भोटेकोशी बाढी अपडेट : हालसम्म कति भेटिए शव ?


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३३७ वटा र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

जसमध्ये १ हजार २३३ वटा शवहरूको र २ हजार ५९ आफन्तहरूको गरी कुल ३ हजार २९२ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै पहिचान नभएको १ हजार ४३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३४३ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।