नेपाल टेलिकमद्वारा ईन्टरनेट प्याकेजमा छुट घोषणा : इन्टरनेट जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा


काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई रु। ५०० जडान शुल्क मिनाहा गरिनेछ । त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिना सेवा पाउनेछन् ।

नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् । वार्षिक प्याकेजअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।

प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी, भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई रु। एक हजार छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टेलिकमले मोबाइल सेवाका ग्राहकका लागि रु। ४९९ र रु। ६९९ का दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ ।

रु। ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, रु। ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले भ्वाइस तथा सन्देश सेवामा समेत सहुलियत दरका प्याकेज सार्वजनिक गरेको छ । रु। २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ ।

त्यस्तै, रु। ९९ मा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।

नेपाल टेलिकमका अनुसार मोबाइल प्याकेजमा समावेश अफरका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  १७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।