काठमाडौँ । सेयर बजार परिसूचक नेप्से २६ सय विन्दुनजिक पुगेको छ । मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेको हो ।
मंगलबार कारोबारमा आएका ३५१ कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४६ हजार ६५९ पटक किनबेच भएका छन् । यस दिन कुल ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार पनि नेप्से ४ अंकले बढेर २५९५.९३ विन्दुमा पुगेको थियो । उक्त दिन ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाको मूल्य ४.६२ प्रतिशत र एनआईसी एसिया ग्रोथ फन्ड–२ को इकाई मूल्य ४.५७ प्रतिशतले बढेको छ । ओरिएन्टल होटलको सेयर मूल्य ३.७४ प्रतिशत र सन् नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ३.१७ प्रतिशतले बढेको छ ।
यता, स्नो रिभर्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्तको सेयर मूल्य १२.८७ प्रतिशतले घटेको छ । एनआईसी एसिया सेलेक्ट फन्ड–३० को इकाई मूल्य ५.२३ प्रतिशत र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.५६ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्षस्थानमा रहेको छ । कम्पनीका १२ लाख १६ हजार ४४८ कित्ता सेयर १ हजार ७४३ पटक किनबेच हुँदा ३६ करोड ४७ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।








