चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह


महेन्द्रनगर । चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गरेका छन् ।

उनले चाडपर्वका बेला मनोरञ्जनका नाममा प्रयोग हुने पदार्थहरू आतिसबाजी, भुइँचम्पा, पटाका, बारूद, अन्य विस्फोटक तथा आगलागी हुने वस्तुहरूको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्नरनगराउनसमेत आग्रह गरे । 

त्यस्तै चाडपर्वको बहानामा गैरकानुनी गतिविधिहरू जुवातास, चिठ्ठा, कौडा, सट्टेबाजी नगर्नरनगराउन आग्रह गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

अनलाइन सपिङ (किनमेल), गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे । 

उनले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।