साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्


काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।  

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।”

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन । “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ”, उनले भने । 

प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार  ०७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।