रेल चालकको आवेदन खुल्यो, मंसिर २१ गतेसम्म दरखास्त दिन सकिने


काठमाडौँ । रेल चालकको लागि आवेदन खुलेको छ । रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे बोर्डले नेपाली रेल चालक (लोकोपाइलट) हरू आवेदन खुलाएको हो ।

विशालनगरस्थित बोर्डको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै देशमा रेल सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालकहरूको आवश्यकता परेकाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूले आवेदनका साथ आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा सम्बन्धित क्षेत्रको अनुभव र तालिमको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात् आगामी २०८३ मंसिर २१ गतेसम्म काठमाडौँको विशालनगरस्थित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।