एनपिएल ३ : आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै


चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

चितवन राइनोज क्रिकेट क्लबका समर्थकहरु खेल चितवनबाट काठमाडौँतर्फ लागेका छन् । आज साँझ हुने खेल हेर्न राइनोजले समर्थक काठमाडौँ लगेको हो ।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई क्लबको खेल हुने दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । उनले भने, “खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई चितवनदेखि काठमाडौँसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ ।”

उनले भने, “प्रिटिकट लिएर आउने समर्थकमध्ये ‘फस्ट कम फस्ट’ का आधारमा बस सेवा दिइएका छौँ ।”

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।