दुई अर्बको नागरिक बचतपत्र बिक्री हुँदै, नौ प्रतिशत ब्याज पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले जेठ ११ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।

व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । जेठ ११ देखि असार १ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार ६ गतेका लागि तोकिएको छ ।

बैंकले २०८३ असार ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।