तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार १५ अर्ब वित्तीय बजारमा पठाउने

0
Shares

नेपाल राष्ट्र बैंकले वैशाख ११ गते बुधबार वित्तीय बजारमा थप १५ अर्ब रुपैयाँ पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो मार्फत उक्त रकम बैकिङ प्रणालीमा पठाउन लागेको हो ।

अन्तर बैंक कारोबारको ब्याजदर सिमा भन्दा माथि पुगेपछि केन्द्रिय बैंकले रिपो जारी गर्न लागेको हो । त्यस्तै अघिल्लो साता निष्काशन गरेको १५ अर्बको रिपो समेत बिहीबार परिपक्क हुने भएपछि बजारमा थप तरलता प्रवाह गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ हाराहारीमा तरलता छ । ७ दिनका लागि निष्कासन हुन लागेको रिपो वैशाख १८ गते परिपक्व हुने छ । रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

रिपो बुधबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

केन्द्रीय बैंकले खुला बजार र ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

अहिले अधिकासं बाणिज्य बैंकहरुको पुूँजी, कर्जा तथा निक्षेप (सिसिडि)  अनुपात ८० को हाराहारीमा छ । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।