पहिलो पटक ‘सेलेक्ट इण्डेक्स फण्ड’ ल्याउँदाको उत्साह बेग्लै छ – रमेन्द्र रायमाझीसँग अन्तरवार्ता


रमेन्द्र रायमाझी, एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पछिल्लो अढाई वर्षदेखि कार्यरत छन् । पूँजी बजारमा विशेष रुची राख्ने भएकाले नै बैंकिगं क्षेत्रमा करियर सुरु गरेका रायमाझीले पछिल्लो ८ वर्षदेखि बैंकिग करियरबाट आफुलाई पूर्ण रुपमा पूँजी बजारका क्षेत्रमा डोर्याएका छन् । कास्कीको पोखरामा नन्मिएर विद्यालयस्तर सम्मको अध्ययन पोखरामै गरेका रायमाझीले उच्च शिक्षा भारतको बैंगलोरमा लिएका हुन् । अध्ययनकै क्रममा स्थानीय वित्तीय संस्थामा काम सुरु गरेका रायमाझीले आधा दशक समय उक्त संस्थालाई दिए र नेपाल फर्किए । तत्कालिन मनकामना डेभलपमेण्ट बैंकबाट नेपालमा करियर सुरु गरेका रायमाझीको नेतृत्वमा रहेको एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा बिहीबारदेखि १ अर्ब रुपैंयाको सामुहिक लगानी कोषका इकाईहरु निष्काशन हुँदैछ ।

अहिले पूँजी बजारले नयाँ उचाई बनाईरहेका बेला सामुहकि लगानी कोषहरुको बजारका साथै यसका विभिन्न आयामका सम्बन्धमा नोटबजारले रायमाझीसँग कुराकानी गरेको छ । प्रस्तुत छ रायमाझीसँगको कुराकानी ।

रमेन्द्र रायमाझी भनेर पाठकलाई चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?

मेरो जन्म कास्की जिल्ला, पोखरामा भएको हो । पोखराको अम्मर सिंङ मोडल हायर सेकेन्डरी स्कुलबाट विद्यलयस्तरको अध्ययन गरे पछि मैले उच्च शिक्षा भारतको बैङलोरबाट गरेको हो । मेरो करिअरको सुरुवात “Ernst & Young Global, India” कम्पनीबाट भएको हो । उक्त संस्थामा बरिष्ठ वित्त विश्लेषकको रुपमा साढे ३ वर्ष भन्दा बढी समय काम गर्ने अवसर मिल्यो । त्यहाँ बस्दा विभिन्न देशमा रहेका कम्पनीको सिस्टर कम्पनीहरुसंग फाइनान्सियल प्लानीङ्ग तथा एनलाईसिस् गर्ने गरेको थिए ।

नेपाल फर्किसके पछि तत्कालिन मनकामना डेभलपमेण्ट बैंक अहिलेको महालक्ष्मी बिकासबाट सेवा सुरु गरेको हो । उक्त बैंकमा ५ वर्ष भन्दा बढी समय काम गरे । भारत बस्दा नै त्यहाँका स्टक एक्सचेन्ज हेर्ने तथा लगानी गर्ने गरिरहेको भएकाले मेरो रुची बजारमा नै थियो । क्यापिटल मार्केट तथा इन्भेष्टमेण्ट बैंकिङ्ग क्षेत्र मेरो रुचिको क्षेत्र भएकाले ग्लोवल आईएमई क्यापिटलबाट नेपालको क्यापिटल मार्केट क्षेत्रमा मेरो करिअरको सुरुवात भएको हो । मेरो लागि करिअरको टर्निङ प्वाइन्ट नै यही हो । एन आई सी एशिया क्यापिटलमा आउनु भन्दा पहिले केसिएल अस्टयुट क्यापिटलमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सम्पादन गरिरहेको थिए । यहाँ आएको पनि झण्डै साढे दुई वर्ष भयो । समग्रमा विगत १२ बर्ष देखि नेपाली क्यापिटल मार्केट्स तथा बैंकिङ्ग क्षेत्रमा विशेष गरि इक्व्टिी रिसर्च, लगानी व्यवस्थापन, वित्त, टे«जरी तथा मर्चेण्ट बैकिङ्ग क्षेत्रमा कार्यरत छु ।

एनआइसी एशिया इण्डेक्स फण्ड निष्काशनको पुर्वसन्ध्यामा हुनुहुन्छ । यो फण्डका बारेमा बिस्तृतमा भन्नु पर्दा ?

एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड हो । यो योजना ७ वर्ष अवधिको बन्दमुखी योजना हो । १ अर्ब आकारको फण्डमा १० रुपैंया अंकित दरका १५ करोड रुपैंया बराबरको १ करोड ५० लाख इकाई योजना प्रबद्र्धक बैंक एन आई सी एशियालाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएको हो । असार १४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला हुने फण्डमा अधिक माग परेको खण्डमा योजनाको आकार १ अर्व २५ करोड सम्म कायम गर्न सकिने छ ।

यस योजनको इकाई खरिद गर्नको लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिने छ । साथै सिडिएससी ले उपलब्ध गराएको मेरो शेयर एप्लिकेसन प्रयोगकर्ताहरुले मेरो शेयरको माई आश्वामा गई सहजै रुपमा आवेदन दिन सक्नुहुनेछ ।

अरु फण्डको तुलनामा यो फण्ड फरक छ कि छैन ? छ भने कसरी ?

बजारमा संचालनमा आएका अन्य फण्डहरु भन्दा हामीले संचालन गर्न लागिएको नयाँ योजना बिल्कुलै फरक छ । यो इन्डेक्स फण्ड हो र यसको लगानी रणनीति प्यासिव प्रकृतिको हुन्छ । हाल नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये धेरै जसो योजनाहरु ग्रोथ र ब्यालेन्सड् प्रकृतिका देखिन्छन् । यस प्रकारका फण्डहरुले दोश्रो बजारमा सूचिकृत अधिकांश कम्पनीहरुको शेयरमा लगानी गर्दा अधिकतम लगानी विविधिकरण हुन्छ । जसले गर्दा लगानीमा प्रतिफल कमी आउन सक्छ । तर हामीहरुले संचालन गर्न लागेको फण्डले जम्मा ३० वटा कम्पनीहरु छानेर लगानी गर्दा अप्टिमल विविधिकरण हुने र त्यसबाट अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ । एन आई सी एशिया सेलेक्ट–३० फण्डले जम्मा ३० वटा कम्पनीहरुमा लगानी गर्ने भए पनि धितोपत्रको दोश्रो बजारमा रहेको सम्पूर्ण समूह उप–समूमा कायम रहेका कम्पनीहरुको शेयर छनौट गरि लगानी गर्ने हुँदा यो योजनाको न्याभले समग्र स्टक मार्केटस्को परिसूचकलाई प्रतिनिधित्व गर्दछ ।

नेपालमा म्युचुल फण्डको बजारलाई कसरी हेर्नु भएको छ ?

नेपालमा म्युचुअल फण्ड संचालनको इतिहास धेरै लामो छैन । हाल १५ वटा म्युअुअल फण्ड व्यवस्थापकबाट जम्मा २५ वटा सामूहिक लगानी कोष योजनाहरु संचालनमा रहेको देखिन्छ । विस्तारै म्युचुअल फण्ड संचालन गर्ने क्यापिटलको संख्या बढेसंगै म्युचुअल फण्डका स्किमहरु पनि बढ्दै जाने देखिन्छ । जसले गर्दा नेपालमा म्युचुअल फण्ड मार्केट बढ्दै गई आम लगानीकर्ताहरुको लागि समेत धितोपत्रको बजारमा लगानीको लागि एउटा प्रमुख औजारको रुपमा स्थिापित हुने देखिन्छ । बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति नभएको हुँदा समग्र बजारको विकास विस्तारमा पनि म्युचुअल फण्डको भुमिका महत्वपूर्ण रहेको छ । समग्रमा भन्दा नेपालमा म्युचुअल फण्डको भविष्य धेरै राम्रो रहेको देखिन्छ ।

बन्दमुखी र खुल्लामुखी फण्डमा खासमा के के फरक छ ? योजनको इकाई बाँडफाँड पश्चात कसरी कारोबार हुन्छ ?

बन्दमुखी योजना कुनै निश्चित समय तोकेर संचालन गरिएको हुन्छ । जस अन्तर्गत योजनाको अवधि समाप्त भए पश्चात योजना नै खारेज गरि सम्पूर्ण रकम योजनाका इकाईधनीहरुलाई फिर्ता भुक्तानी गरिन्छ भने खुलामुखी योजना लाईफटाइम संचालन भई रहन्छन् । बन्दमुखी योजनाको इकाईको आई पि ओ बाँडफाँड पश्चात धितोपत्रको दोश्रो बजारमा सूचिकृत हुन्छ र दोश्रो बजार मार्फत कारोवार हुन्छ । तर खुलामुखी योजनको इकाई बाँडफाँड पश्चात योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरण केन्द मार्फत मात्र खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाइएको हुन्छ । कस्तो खालको योजनामा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताहरुमा भर पर्ने हुन्छ । तर हाम्रो सन्दर्भमा हेर्ने हो भने संचालनमा रहेका सम्पूर्ण बन्दमुखी योजनहरुको इकाई दोश्रो बजारमा डिस्काउण्टमा करोवार भईरहेका छन् भने खुलामुखी योनाको इकाई कायम न्याभ मुल्यमा नै करोवार हुन्छ ।

म्युचुअल फण्डमा लगानीकर्ताको रुची कम भएको महसुस गरिन्छ । किन होला ?

म्युचुअल फण्डमा लगानी गर्दाको फाईदाहरुको बारेमा आम लगानीकर्ताहरुमा ज्ञानको कमीले गर्दा रुची कम भएको हुन सक्छ । तर पछिल्लो समयमा म्युचुअल फण्ड प्रति आम लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको देखिन्छ । म्युचुअल फण्डमा लगानी गर्दा हुने फाइदहरुको बारेमा हामीहरु जस्ता योजना व्यवस्थापकहरुले आम सर्वसाधारणहरुलाई सचेत गराउन नसकेको हुँदा पनि म्युचुअल फण्ड प्रति लगानीकर्ताहरुको रुची कम भएको हो । तर पछिल्लो समयमा म्युचुअल फण्डमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ र म्युचुअल फण्ड पनि लगानीको एउटा राम्रो औजार हो भन्ने कुरा आम लगानीकर्ताहरुमा पर्दै गइरहेको छ । जुन म्युचुअल फण्ड संचालकहरुलाई खुसीको कुरा हो ।

प्रत्यक्ष रुपमा दोस्रो बजारमा गरिने कारोबार र म्युचुअल फण्डमा गरिने लगानी कुन सुरक्षित, किन र कसरी ?

धितोपत्रको दोश्रो बजारमा गरिने लगानी कहिले पनि जोखीम रहित हुदैन । दोश्रो बजारमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा धेरै कुराहरुको अध्ययन गरेर मात्र गर्नुपर्ने हुन्छ । जुन कुरा सर्वसाधारण लगानीकर्ताहरुको लागि गाह्रो विषय हुन सक्दछ । तर म्युचुअल फण्ड संचालकहरु संग बजारको राम्रो ज्ञान अनुभव भएका विज्ञ समूह हुने र लगानी गर्नुभन्दा अगाडी लगानी गरिने कम्पनीहरुको राम्रो अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिने हुँदा म्युचुअल फण्ड मार्फत गरिएको लगानी बढी सुरक्षित हुने देखिन्छ ।

बजार बढ्दो क्रममा रहेको अवस्थामा सवैजासो सूचिकृत कम्पनीहरुको मुल्य बृद्धि हुने हुँदा आम लगानीकर्ताहरुले गरेको लगानीले पनि राम्रै प्रतिफल दिएको हुन सक्छ । तर बजार एउटा बिन्दुमा पुगे पछि घट्दो क्रममा रहेको अवस्थामा म्युचुअल फण्डमा गरिने लगानी सुरक्षित हुनुको साथै बढी रिर्टन प्राप्त गर्न सकिन्छ । अहिले बजेटले प्रष्टाइएको व्यवस्था अनुसार म्युचुअल फण्डको आम्दानीमा कर नलाग्ने भएको हुँदा म्युचुअल फण्डहरुको मुनाफा बृद्धि हुन सहयोग पुग्ने देखिन्छ ।

पहिले नै लाभांशको दर घोषणा गरेर लगानीकर्तालाई प्रलोभनमा पार्ने अभ्यास भईरहेका छन् यसलाई कसरी लिनु भएको छ ?

पहिले नै लाभांश दर घोषणा गरिएको होईन । कुनै पनि क्षेत्रमा लगानी गर्दा भविष्मा कति रिर्टन प्राप्त गर्न सकिन्छ त्यसको प्रक्षेपण आजको मितिमा गर्र्नु आवश्यक हुन्छ । त्यसैले हामीले पनि हाम्रो फण्डमा लगानी गर्दा सात वर्षको अवधिमा कति प्रतिफल प्राप्त हुन सक्छ भनेर प्रक्षेपण गरिएको हो । जुन कुरा यहाँहरुले स्वीकृत विवरण पत्रको प्रक्षेपित वित्तीय विवरणमा सम्पूर्ण कुराहरु हेर्न सक्नुहुनेछ । जहाँ प्रक्षेपणका सम्पूर्ण आधारहरु समेत खुलाइएको हुन्छ ।

जोखिम र प्रतिफलका आधारमा म्युचुअल फण्डको प्रकृतिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ होला । लगानीकर्तालाई यो विषयमा के भन्न चाहनु हुन्छ ?

म्युचुअल फण्डको प्रकृतिले पनि उक्त म्युचुअल फण्डको लगानी रणनीतिमा फरक पर्दछ । त्यसैले हामीले संचालन गर्न लागिएको फण्डको नाम एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड राखिएको हो । नेपालमा यस प्रकारका फण्ड हाल सम्म संचालमा आएको छैन । धितोपत्रको दोश्रो बजारको मुभमेण्ट साइकलिकल प्रकृतिको हुन्छ । बजारले आफ्नो पेश अनुसार उतार चढाव गरिरहन्छ । सबै भन्दा महत्वपूर्ण विषय भनेको धितोपत्र बजार कहिले तल हुन्छ र कहिले माथि हुन्छ भन्ने कुरा आकलन गर्नको लागि गहन अध्ययन अनुसन्धान गर्नु आवश्यक पर्दछ ।
यस योजनाको अधिकाशं रकम सुचिकृत कम्पनीहरुको गहन अध्ययन गरेर उत्कृष्ट ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिने हुँदा लगानी गरिएका कम्पनीहरुबाट राम्रो प्रतिफल प्राप्त हुन्छ । ३० वटा कम्पनीमा लगानी गरिएता पनि समय समयमा लगानी गरिएका कम्पनीहरु तथा अन्य सुचिृकत कम्पनीहरको आर्थिक पक्षको गहन अध्ययन गरेर लगानी पुन मुल्यङकन गरि लगानी फेरबदल गरिन्छ । लगानी गर्नुभन्दा पहिले नै कम्पनीहरुको बारेमा गहन अध्ययन गरि लगानी गरिने हुँदा लगानीमा उच्च प्रतिफल आर्जन हुन्छ । त्यसैले योजनामा लगानी गर्ने इकाईधनीहरुलाई उचित मुनाफा वितरण गर्न सकिन्छ । त्यसैले लगानीकर्ताहरुले ढुक्क भएको यस योजनाका इकाई खरिद गर्न सक्नुहुने छ ।

मुद्धती निक्षेपबाट प्रतिफल वितरण गर्ने विषयलाई प्राथमिकतामा राखिन्छ । जानकारले त फण्डमा लगानी नगरी सिधैं मुद्धती बचत गर्न सक्छन् नि होइन ?

जानकारले भन्दा पनि वार्षिक रुपमा निश्चित प्रतिशत प्रतिफल भए पनि पुग्ने वा रिक्स लिन नचहनेहरुले मात्र मुद्धती निक्षेपमा लगानी गर्ने हो । मुद्धतीबाट प्राप्त हुने आम्दानीले इन्फ्लेसन रेटलाई मात्र कम्पनसेट गर्ने हो र मुद्धतीमा लगानी गरिएको पूँजी इन्फ्लेसन उच्च रहेको बेलामा पूँजीको पर्चेजिगं पावरमा ह्रास आउन सक्छ । त्यसैले जानकार तथा स्मार्ट लगानीकर्ताहरुले न्युन जोखिम हुने र उचित प्रतिफल प्राप्त हुने धितोपत्रको बजारमा लगानी गरि उचित लाभ लिन सक्दछन । सोझै दोश्रो बजारमा लगानी गनु भन्दा पनि म्युचुअल फण्डमा गरिएको लगानीमा कम जोखिम हुन्छ ।

भारत र नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हामीकहाँ म्युचुअल फण्डमा आबद्ध हुनेहरु ज्यादै न्यून छन्, किन यस्तो भएको होला ?

भारतमा म्युचुअल फण्ड संचालनमा आएको दशकौं भईसकेको छ भने नेपालमा बल्ल म्युचुअल फण्डहरु संचालन गर्ने क्रम बढ्दै गईरहेको छ । नेपालमा म्युचुअल फण्डको महत्व तथा म्युचुअल फण्ड पनि लगानीको प्रमुख औजारको रुपमा विस्तारै परिचित हुदै गईरहेको देखिन्छ । भारतमा म्युचुअल फण्डको स्किमहरु धेरै प्रकारको रहेको पाइन्छ भने म्युचुअल फण्डमा गरिएको लगानीमा आयकर छुट, बिदेशी लगानी खुल्ला हुनु, म्युचुअल फण्डहरुले लगानी गर्ने दायर फराकिलो हुनु जस्ता धेरै सुविधा रहेको पाईन्छ । नेपालमा पनि विस्तारै यस प्रकारका सुविधा उपलब्ध गराउन सकियो भने अवश्य नै आगामी दिनहरुमा म्युचुअल फण्ड प्रति आम सर्वसाधारणहरुको आकार्षण बढ्ने देखिन्छ ।

हामीकहाँ म्युचुअल फण्ड लिट्रेसी कम हुनुको कारक के हो र यसमा कसरी सुधार गर्न सकिन्छ ?

हामीकहाँ म्युचुअल फण्ड संचालनको इतिहास कम भएकाले नै म्युचुअल फण्डको बारेमा आम सर्वसाधारमा जानकारी नभएको हुन सक्छ । नेपालमा म्युचुअल फण्ड संचालन गर्नको लागि बैंकको कम्पतीमा ५१ प्रतिशत शेयर स्वमित्व भएको क्यापिटलले हुनुपर्ने व्यवस्था रहेको कारण म्युचुअल फण्ड संचालन गर्ने क्यापिटलको संख्या कम थियो । तर पछिल्लो समयमा बैंकहरुले आफ्नो सहायक कम्पनी खोलि म्युचुअल फण्ड संचालन गर्ने क्रम बढेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गरि इन्स्योरेन्स कम्पनीहरुले पनि म्युचुअल फण्ड संचालन गर्ने सक्ने व्यवस्था मिलाएको छ भने बिकास बैंकहरुले पनि क्यापिटल खोलि म्युचुअल फण्ड संचालन गर्ने योजना बनाईराखेको हुँदा म्युचुअल फण्डको संख्या बृद्धिसंगै विस्तारै सर्वसाधारणमा म्युचुअल फण्डको बारेमा जानकारी हुने देखिन्छ ।

आजको मितिमा म्युचुअल फण्डको लिट्रेसी बढाउनको लागि हामी जस्ता फण्ड व्यवस्थापक र तपाईहरु मिडियाका व्यक्तिहरुले समग्र म्युचुअल फण्डमा लगानी गर्दा हुने फाईदाहरुको सम्बन्धमा आम सर्वसाधारण लगानीकर्ताहरुलाई जानकारी गराउनु पर्ने देखिन्छ । साथै म्युचुअल फण्डमा गरिने लगानीलाई समेत आयकरमा छुट हुने लगायतका थप सुविधाहरु नेपाल सरकारले गरिदिने हो भने पनि म्युचुअल फण्ड प्रति लगानीकर्ताको अझ बढी आकार्षण बढ्ने देखिन्छ ।

दोस्रो बजारको सन्दर्भमा म्युचुअल फण्डको प्रभावकारिता कम भएको आरोप लाग्ने गरेको छ यसमा तपाई के भन्नु हुन्छ ?

हाम्रो बजारको आकार बढ्दै गईरहेको छ । म्युचुअल फण्डहरुले जहिले पनि लगानी गर्दा शेयर मुल्यमा प्रभाव पर्ने, सम्पूर्ण विषयको अध्ययन गरेर मात्र लगानी गर्ने र लगानी गर्दा विस्तारै गर्ने हुँदा आम सर्वसाधारणहरुले सोचे जस्तो आजको भोलिने सबै रकम लगानी हुँदैन । आम लगानीकर्ताहरुले म्युचुअल फण्डहरुले बजार घटेको बेलामा शेयर खरिद गरि बजार घटनबाट रोक्ने भुमिका खेल्नु पर्दछ भन्ने बुझाई रहेको पनि देखिन्छ । जुन बुझाई गलत हुन सक्छ ।

धितोपत्रको दोश्रो बजार बढ्दो क्रममा रहेको समयमा म्युचुअल फण्डहरुले गरेको लगानीले भन्दा व्यक्तिगत रुपमा गरिएको लगानीले बढी रिर्टन दिएको हुन सक्छ । तर बजार घट्दो अवस्थामा रहेको बेल ा भने म्युचुअल फण्ड मार्फत गरिने लगानीले बढी मुनाफा दिन सक्छन ।

किनकी म्युचुअल फण्डमा संकलित रकम पनि स–साना लगानीकर्ताहरुकै रकम हो । उनीहरुको लगानीलाई सुरक्षित गरि उचित प्रतिफल बितरण गर्ने दायित्व हामी फण्ड व्यवस्थापकको हुन्छ । तसर्थ शेयर खरिद बिक्री गर्दा यस्ता कुरालाई मध्यनजर गरेर भएकाले म्युचुअल फण्डप्रति त्यस किसिमको आरोप लागेको हुन सक्छ । योजनाले लगानी गर्दा योजनको रकम सुरक्षित हुने तथा उक्त लगानीबाट उच्च प्रतिफल प्राप्त गर्ने गरि लगानी रणनीति बनाई कार्यन्वयन गरिन्छ । त्यसैले हाम्रो पहिलो प्राथर्मिकता भनेको इकाईधनीहरुको लगानी सुरक्षित गरी उनीहरुलाई उचित प्रतिफल वितरण गर्ने नै हुन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।