प्रमाण नहुँदा वैदेशिक रोजगारीमा ठगीएका पीडितलाई न्याय दिन मुस्किल

0
Shares

वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकमा पठाइदिने भन्दै ठगी गर्नेको संख्या बढीरहेको छ । यसरी ठगीएका पीडितलाई प्रमाण नहुँदा न्याय दिन पनि उत्तिकै मुस्किल हुने गरेको छ ।

ठगले दोस्रो पक्षको प्रयोग गरेर ठगी गर्ने भएकाले पनि वास्तविक ठगलाई कानुनी कठघरामा ल्याउन सकस भइरहेको पिपुल फोरमका संस्थापक तथा अधिवक्ता सोम लुँइटेलले बताए ।

मंगलबार पिपुल फोरमद्धारा आयोजित एक कार्यक्रममा अधिवक्ता लुँइटेलले भने, ‘चर्को रकम बुझाएका पीडितसंग प्रमाण हुँदैन, यसरी प्रमाण नहुँदा पीडितहरुलाई न्याय दिलाउन मुस्किल पर्ने गरेको छ।’

आप्रवासी श्रमिकहरुलाई निशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था पिपुल फोरमका अनुसार वैदेशिक रोजगारीको नाममा मानव बेचविखन पनि हुने गरेको छ ।

फोरमले हालसम्म २३ हजार ६५७ जना आप्रवासी कामदार र उनीहरुका परिवारलाई कानुनी सहायता प्रदान गरेको छ ।  कानुनी सहायता पश्चात पीडितले ८४ करोड ९५ लाख २१ हजार ८५३ रुपैयाँ क्षतिपूर्ति पाउने निर्णय भएको थियो ।

फोरमले गत आवमा ठगीमा परेका १ हजार ७४८ जनालाई नि: शुल्क कानुनी सहायता दिएको थियो । कानुनी सहायता सेवा सहजीकरण पश्चात पीडितले ७ करोड ७७ लाख १८ हजार २२० रुपैयाँ क्षतिपूर्ती प्राप्त गर्ने निर्णय भएको थियो ।

त्यस्तै फोरमले यो आवको असारको अन्तिम मंगलबारसम्म २ हजार ३२१ जना पीडितलाई नि: शुल्क कानुनी साहायता दिएको छ । कानुनी सहायता पश्चात पीडितले ४ करोड २५ लाख ८७ हजार ९७३ रुपैयाँ क्षतिपूर्ती पाउने निर्णय भएको अधिवक्ता लुँइटेलले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।