इजरायलमा एक हजार नेपाली श्रमिकका लागि रोजगारीको अवसर, तलब एक लाख ९३ हजार

0
Shares

वैदेशिक रोजगार विभागले औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको छ । लामो समयको तयारीपछि एक हजार नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका हुन् ।

विभागले मंगलबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जान इच्छुक तथा योग्यता पुगेका नेपालीबाट २१ दिनभित्र अनलाइन आवेदन आह्वान गरेको हो ।

पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ । सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने जनाइएको छ ।

उक्त कामदारको मासिक तलब एक हजार छ सय अमेरिकी डलर अर्थात एक लाख ९३ हजार हुने सूचनामा उल्लेख गरिएको छ । जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने र हप्तामा ६ दिन काम गर्नुपर्ने छ । साथै खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने छ । इजरायलले पहिलो चरणमा एक हजार कामदार अर्थात ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका लैजाने भएको हो । रोजगारदाताले यातायात र पोशाकको समेत व्यवस्थागर्ने छ ।

सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो ।

इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध रोजगारमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जनाइएको छ ।

आवेदकको योग्यता ?

१.आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।
७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।