बैंक स्प्रेडदर ३ प्रतिशत कायम गर्न र बेसरेट भन्दा चार प्रतिशत बढी ब्याज नलिन सुझाब

0
Shares

 नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको स्प्रेडदर ३ प्रतिशतमा सीमित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक बर्षको पूर्व बजेट छलफलमा सुझाव दिँदै गोल्छाले बैंकको ब्याजदर उच्च हुँदा व्यवसाय गर्न असहज रहेको बताए ।

‘उद्योग व्यवसायको लागत अहिले बैंकको ब्याजदरको कारण अत्याधिक बढी भएको छ,बैंकको ब्याजदर घटाउनको लागि बेसरेटको चार प्रतिशत भन्दा बढी ब्याज नलिन र स्प्रेडदर ३ प्रतिशत भन्दा बढी हुनु हुँदैन,’ उनले भने । गोल्छाले पुनः कर्जाको सीमा र समयअवधि बढाएर यसलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । त्यस्तै सहवित्तीयकरण कर्जाको सिमा २ अर्ब पुर्याउन पनि सुझाब दिए ।

शेखरले करका उच्च दरहरुलाई पनि घटाउनुपर्ने बताउँदै उच्च करका कारण प्रतिस्पर्धी क्षमता घटिरहेको दावी समेत गरे। साथै उनले कर्मचारीको ढिलासुस्ती देखि न्यायपालिकाको न्यायसम्पादनलाई पनि छरितो बनाउन माग गरेका छन्।

उनले क्रेडिट रेटिङ गराइसकेको कम्पनीलाई पर्सनल ग्यारेन्टी नखोज्ने ब्यवस्था गर्न समेत माग गरेका छन्। त्यस्तै, उनले कस्ट अफ डुइङ बिजिनेस घटाउन कामदारको उत्पादकत्व बढ्ने गरी कानुन निर्माण गर्नुपर्ने, पूर्वाधारमा सुधार, भन्सार कार्यालयको सुधार गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले बजारमा लगानीयोग्य रकम कम भएको भन्दै अगामी दिनमा आउने बजेटले खर्च गर्ने क्षमता बढाउनु पर्ने बताए ।

यसैगरी पछिल्लो समय व्यवसायीलाई क्रेडिटमा विदेशबाट सामान आयात गर्न नदिँदा व्यवसाय संचालन खर्च उच्च भएको भन्दै त्यसमा समेत परिवर्तन गर्न आग्रह गरेका थिए ।

यसैगरी नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले निर्यातमा भ्यालु एडअनुसार अनुदान दिनुपर्ने व्यवस्था ल्याउनु पर्ने बताए । उनले तीन तहमा ५ देखि १५ प्रतिशतसम्म निर्यात अनुदान पाउनुपर्ने बताए ।