चालू आर्थिक वर्ष २०७८।७९ को पहिलो महिना अर्थात साउनमा नेपालको निर्यात व्यापार २० अर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा नेपालको निर्यात अघिल्लो आवको सोही महिनाको तुलनामा ११५.८५ प्रतिशतले बढेर २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँ पुगेको हो । २०७७ साउनमा नेपालले ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
यो निर्यात रकम आर्थिक वर्षको पहिलो महिनामै भएको हालसम्मकै उच्च हो । यसभन्दा अघि कुनै एउटा आर्थिक वर्षको पहिलो महिनामै यति ठूलो रकम बराबरको निर्यात भएको थिएन । यो नै पहिलो पटक हो ।
नेपालको निर्यात वृद्धिलाई सबैभन्दा धेरै भटमासको तेलको योगदान रहेको छ । साउनमा भएको कुल निर्यातमा भटमासको तेलको हिस्सा ४३ प्रतिशत धेरै हो ।
भन्सारको तथ्याङ्क अनुसार भटमासको तेल सबैभन्दा धेरै निर्यात भएको छ । २०७८ साउनमा नेपालबाट ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको छ । भटमासको तेलपछि पाम तेल निर्यात उच्च छ । साउनमा ९४.३९ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको विभागको तथ्याङ्क छ ।
पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि कच्चा भटमास र पाम आयात गरी प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्ति बढेको छ । यसले नेपालको निर्यातलाई वृद्धि गरेको देखिन्छ ।
नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा कार्पेट, टेक्सटायल, प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा पनि अग्र स्थानमा रहेका छन् । साउनमा ८०.१२ करोडको कार्पेट, टेक्सटायलजन्य वस्तु, ७९.१९ करोडको सूर्यमुखी तेल र ६१.४३ करोड रुपैयाँ बराबरको ऊनी कपडा निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।
साउनमा एक खर्ब ५० अर्ब आयात, मोबाइल मात्रै पौने ५ अर्बको आयात
आव २०७८/७९ को पहिलो महिनामा अर्थात साउनमा नेपालले एक खर्ब ५० अर्ब ४३ करोड १७ लाखको वस्तु आयात गरेको छ । यो अघिल्लो आवको सोही महिनाको तुलनामा ७५.६६ प्रतिशतले बढी हो । अघिल्लो साउनमा नेपालले ८५ अर्ब ८० करोडको वस्तु आयात गरेको थियो ।
साउनमा सबैभन्दा धेरै कच्चा भटमास तेलको आयात भएको छ । यस महिनामा ८ अर्ब ३२ करोड ८९ लाख ९७ हजारको कच्चा भटमास तेलको आयात भएको हो । डिजेल आयात हुने दोस्रो नम्बरमा रहेको छ । २०७८ साउनमा इन्डियन आयल कर्पोरेशनबाट ६ अर्ब ६४ करोड ५८ लाख ९७ हजारको डिजेल आयात भएको तथ्याङ्क विभागको छ ।
डिजेलपछि अर्धप्रशोधित फलामका उत्पादन ६ अर्ब ४५ करोड ४६ लाख ९१ हजार र चौथो ठूलो आयात मोबाइलको रहेको छ । साउनमा मात्रै ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजारको मोबाइल आयात भएको विभागको तथ्याङ्क छ ।
आयातको तुलनामा निर्यात वृद्धिदरको अन्त्यन्त कम हुँदा साउनमा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख घाटा ब्यहोरेको छ । आन्तरिक उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्न नसक्दा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा हरेक वर्ष फराकिलो बन्दै गइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया