ड्राइभिङ्ग लाइन्सेन्सको ट्रायल १८ गतेबाट हुने, नयाँ आवेदन भने तत्काल नखुल्ने

0
Shares


यातायात व्यवस्था विभागले लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल भदौ १८ गतेदेखि खुला गर्ने भएको छ ।

विभागले भदौ १७ गते बिहीबारदेखि सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको हो ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले काठमाडौँ उपत्यकामा भदौ १८ गते र उपत्यका बाहिर १५ दिनपछि चालक अनुमतिका लागि ट्रायलको लिखित तथा प्रयोगात्मक परीक्षा शुरु हुने जानकारी दिए ।

यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ । हाल विभागमा कोभिडका कारण रोकिएको करिब ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । यी परीक्षार्थीको ट्रायल पूरा गर्न देशभरिका २१ वटा यातायात कार्यालयबाट ६ लाखको परीक्षा सञ्चालन गर्नका लागि ४ देखि ५ महिना लाग्न सक्ने विभागको अनुमान छ ।

अहिले पनि कोभिड महामारी कायम नै रहेकाले विभागले नयाँ आवेदन भने तत्काल नखुलाउने भएको छ । पूरानो संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी विभागको छ ।

विसं २०७६ चैत्रबाट पहिलो चरणको निषेधाज्ञापछि विभागले २०७७ पुस १४ गतेबाट डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी खुलाएका थियो । दोस्रो चरणको निषेधाज्ञासँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

परीक्षा सञ्चालन सम्बन्धी नयाँ मापदण्ड लागू

विभागले कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ लागू गरेको छ ।

जस अन्तर्गत लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा १०० जना र एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ । तर परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ । ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।