सिद्धार्थ बैंकको नाफा एक अर्ब ५९ करोड


सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा दोस्रो एक अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तुलनामा बैंकले १५.३८ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । साथै बैंकको नाफा चालु आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा ५२ करोड ३४ लाख ८३ हजार रुपैयाँले धेरै हो ।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनु्सार बैंकको निक्षेप संकलन र कर्जा परिचालनको आकार वढेको भएपनि कर्मचारी र सञ्चालन खर्च ५० प्रतिशत बढेपछि नाफामा कमी आएको हो । कोषको लागत र खराब कर्जा अनुपात समेत गत आवको तेस्रो त्रैमासको तुलनामा केही वृद्धि भएको छ ।
चालु आवको सो अवधिमा बैंकले ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ । बैंकले साधारण जगेडामा ३१ करोड ८५ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा १५ करोड ९२ लाख र डिबेञ्चर रिडम्सन रिर्जबमा १२ करोड ९३ लाख र रेगुलेटरी रिर्जब कोषमा २३ करोड ३६ लाख छुट्टाएको हो छ ।
बैंकले गरेको ९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १३.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । बैंकको विभिन्न शिर्षहरुमा गरिएको व्यवस्थाका कारण गत आर्थिक वर्षको नाफाबाट नै १३ प्रतिशत लाभांश बाँडेको बैंकको चालु आवको ९ महिना अवधिमा पनि सोही अनुपातमा मात्र बाँड्न सक्ने अवस्था देखिन्छ ।

सो अवधिमा बैंकले निक्षेप संकलन एक खर्ब ५ अर्ब ६३ करोड र कर्जा प्रवाह रकम एक खर्ब एक अर्ब ३८ करोड पुगेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप संकलन ९४ अर्ब ५७ करोड ९५ लाख र कर्जा लगानी ८३ अर्ब २३ करोड ६० लाख रुपैयाँ रहेको थियो । ११.६९ प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण प्रवाहको वृद्धि २१.८० प्रतिशत धेरै छ ।
गत आवको चैतमा दुई अर्ब ३६ करोड ७२ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा तीन अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । बैंकले ९ अर्ब ३७ करोड २३ लाख ब्याज आम्दानी गरेर ५ अर्ब ९६ करोड ३९ लाख ब्याज खर्च गरेको हो ।
गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस वितरण गरेर पूँजी वृद्धि गरेको बैंकको पूँजी भन्दा नाफा वृद्धि उच्च हुँदा प्रतिशेयर आम्दानीमा सुधार आएको छ । चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७५ पैसाबाट २३ रुपैयाँ ९० पैसामा बढेको हो । बैंकको ६.४७ प्रतिशतले जगेडा कोष बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ५ अर्ब २३ करोड ८४ लाख रहेकोमा हाल ५ अर्ब ५७ करोड ७३ लाखमा वृद्धि भएको हो।
तर, बैंकको आधार ब्याजदर घटे पनि निक्षेप संकलन लागत भने थोरै बढेको छ । गत आवको चैत मसान्तमा ११.३० प्रतिशत रहेको बैंकको आधार ब्याजदर १०.३७ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.४९ बाट ७.५४ प्रतिशतमा बढेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १.३६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा, कर्जा निक्षेप अनुपात ७८.९१ र मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ ।