सानिमा बैंकले १८.६२ प्रतिशत लाभासं दिन सक्ने


चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सानिमा बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने योग्य नाफा एक अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम बैंकको खुद नाफा भन्दा ४६ करोड ४३ लाख रुपैयाँले थोरै हो ।चालु आर्थिक वर्षको ९ महिना अवधिमा बैंकले गरेको नाफालाइ विभिन्न शिर्षकमा छुट्याएर सधनीलाइ वितरण गरेको खण्डमा १८.५२ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले एक अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको तुलनामा यो नाफा ३७ करोड ५ लाख रुपैयाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो । गत आवको सोही अवधीमा बैंकले एक अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
हाल बैंकको सञ्चित कोषमा १५.७७ प्रतिशत अर्थात ४३ करोड ९६ लाख रुपैयाँले वृद्धि भई तीन अर्ब २२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैकको जगेडा कोषमा दुई अर्ब ७८ करोड ६६ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले निक्षेप संकलन बढाएको बैंकको कर्जा लगानी १७ प्रतिशत धेरै बढेको छ । चैतसम्ममा बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशतमा बढेको छ ।
यो अवधीमा बैंकले दुई अर्ब ९१ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३९.४७ प्रतिशत अर्थात ८२ करोड ६३ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आवको चैत मसान्तसम्म बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसा रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ३०.७६ प्रतिशतले बढाउदै प्रतिशेयर आम्दानी २६ रुपैयाँ २५ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर ०.१२ प्रतिशतमा सीमित भएको छ ।
बैंकको आधार ब्याजदर र कोषको लागत दुबै घटेको छ । यस अवधिमा बैंकको आधार ब्याजदर ९.३१ प्रतिशत र निक्षेप संकलन लागत ७.२९ प्रतिशत रहेको छ ।गत आवको चैत मसान्तमा बैंकको आधार ब्याजदर ९.८८ र निक्षेप संकलन लागत ७.६० प्रतिशत रहेको थियो ।