नेपाल विद्युत प्राधिकरणले होङ्शी सिमेन्टलाई तीन महिनाभित्र विद्युत दिने


चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टले ३ महिना भित्रमा विद्युत आपुर्ती पाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सिमेन्ट उद्योगलाई ३ महिना भित्रमा विद्युत् आपूर्ति दिन सकिने जनाएको छ ।

उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकिल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको प्राधिकरणले जनाएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी ३ महिनाभित्र विद्युत आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरिरहेको छ ।
उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।