ट्राफिक प्रहरीको दशैं लक्षित विशेष सुरक्षा योजना


बडादशैं, तिहार तथा छठ पवलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना अघि सारेको छ ।

छिटो र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वमा सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ ट्राफिक प्रहरी महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना अघि सारेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

सोही समयमा बसपार्क, टिकट काउण्टरसहित भीडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन तथा पूर्ण पालना गर्नका लागि सचेतना जगाउने प्रहरीले जनाएको छ ।

बिशेष चेकिङको ब्यवस्था, प्रहरीको एप्सबाटसमेत चेकजाँच

दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ्ग गर्दै आएको छ भने नाकाहरुमा २४सैं घण्टा चेकजाँच हुने गरेको छ ।

चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्युनिकरणको लागि चेकजाँचलाई समेत कडाई पार्ने महाशाखाले जनाएको छ ।
चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने भन्दै प्रहरीले दिउँसोको समयमा पनि मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ ।

महाशाखाले सार्वजनिक गरेको बिशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाटसमेत चेकजाँच गर्ने जनाइएको छ ।

न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढि भिडभाड हुने भएका त्यस क्षेत्रमा बढी जनशक्ति परिचालन गरिने महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए ।

१४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु प्नि सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिबार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिएर हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यबहार, गन्तब्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजग र सक्रिय रहने एसएसपी भट्टराईले बताए ।

टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।