पहुँचका भरमा बजेट पार्ने परिपाटीको अन्त्य हुन्छः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले फाइल देखाएर पहुँचका भरमा बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका छन् । शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने उनले बताएका हुन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताउँदै भने, “फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन, पहुँचका भरमा एउटाले फाइल ल्याउने स्कूल छ भन्ने, अनि पैसा लाने गर्दा प्रभावकारी भएन ।” योजना, मिसन, परिणाम, भविष्य, समयको सुरक्षाको लागि सरकारले लगानी गर्ने मन्त्री शर्माको भनाइ छ ।

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिएका छन् । उनले कतिपय बिना परिणामका ‘फाइल’ मा लगानी भइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । “हामीले धेरै बाटो त खन्यौँ, तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, उनले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ ।”

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए । कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उनको धारणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।