मुक्तिनाथ फाउण्डेशन सुरु, पिछडिएकालाई सहयोग गर्ने


मुक्तिनाथ फाउण्डेशनको विधिवत सुरुवात भएको छ ।

सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

औपचारिक कार्यक्रमको आयोजना गरी फाउण्डेशनले विधिवत रुपमा काम सुरु गरेको घोषणा गरेको हो । फाउण्डेशनका अध्यक्ष भरत राज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरेका थिए । फाउण्डेशन स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणा राख्दै ढकालले फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरेका थिए ।

संस्थालाई गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिनेमा ढकालले जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । ।
कार्यक्रमका वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ । संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।