नेप्से भन्छ, : ‘बैंकलाई तत्काल ब्रोकर लाइसेन्स बाड्न सकिदैँन, मार्केट मेकरको प्रतिवेदन तयार’

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हाल लाई वाणिज्य बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया स्थगित रहेको जनाएको छ।

धितोपत्र बोर्डले गत हप्ता माग गरेको विभिन्न आठ बुँदाको जवाफ पेश गर्दै नेप्सेले अर्थ समितिको पत्र अनुसार हाललाई बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको काम स्थगित गरिएको जनाएको छ ।

नेप्सेले गत साउन १७ गते सूचना प्रकाशित गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएको थियो ।

यस बिषयमा अर्थ समितिद्धारा अध्ययन गर्न गठित उप समितिले साउन ३० गते तत्काल बैंकलाई ब्रोकर लाइसेन्स वितरण नगर्न सुझाए अनुसार अध्ययन समितिको प्रतिवेदन नआए सम्मका लागि बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया स्थगित रहने नेप्सेले प्रष्ट पारेको छ ।

साथै, संघीय संरचना अनुसार आर्थिक रुपले सक्रिय उपत्यका बाहिरका जिल्लाहरुमा ब्रोकर लाइसेन्स वितरणका लागि भने अध्ययन पूरा गरी कार्य्विधि समेत तयार भइसकेको नेप्सेले जनाएको छ ।

यसैगरी नेप्सेले बजार निर्माता (मार्केट मेकर) लाई अनुमति दिन आवश्यक अध्ययन गरी प्रतिवेदन धितोपत्र बोर्डमा पेश गरिसकिएको जनाएको छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माताको काम गर्न दिन नेप्सेले अध्ययन प्रतिवेदन तयार पारेको हो । बजार निर्माताको काम गर्नका लागि वर्तमान कारोबार प्रणालीमा आवश्यक व्यवस्था समेत गरिएको पनि नेप्सेले जनाएको छ ।

त्यस्तै, पूँजी बजारको समस्या र समाधान गर्न अध्ययन गर्न गठित समितिले प्रस्तुत गरेका ५८ बुँदामा आफ्नो जिम्मामा परेका कामहरु द्रुत गतिमा अघि बढिरहेको नेप्सेको भनाई छ । यस्तै लगानीकर्ता सुरक्षण कोष सञ्चालनमा आइसकेको, ओटीसी बजारलाई थप प्रभावकारी हिसाबले सञ्चालन गर्न काम सुरु भइसकेको जानकारी नेप्सेले गराएको छ ।