
सेयर बजार मापक सूचक नेप्से सोमबार एकैदिन करि साढे ३ प्रतिशत अर्थात १०० अंकले घटेको छ । तरलता अभाव विस्तारै सहज हुँदै जान थालेपछि बढ्दो क्रममा रहेको नेप्सेमा सोमबार एकाएक उच्च गिरावट देखिएको हो ।
नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले सत्तारुढ गठबन्धन दलहरुबीच बैशाखमा हुने भनिएको निर्वाचनको मिति पर सर्र्ने निश्चित प्रायः भएपछि बजारबाट प्रोफिट बुकिङ्ग हुँदा सोमबार उच्च अंकले नेप्से घटेको बताए । यसअघि बजारबाट सानातिना प्रोफिट बुकिङ्ग भएपनि ठूलो प्रोफिट बुकिङ्ग नभएको तथा चुनावको मिति सर्दा सोमबार ठूलो प्रोफिट बुकिङ्गका कारण बजारमा उच्च अंकको करेक्शन भएको उनको बुझाई छ ।
त्यसो त गत मंसिर २७ गते २२८१ बिन्दुमा झरेको नेप्से गत बिहीबारसम्म करिब ३० प्रतिशतले बढेर २९३१ बिन्दुसम्म पुगेको थियो । तल्लो बिन्दुबाट बढ्न थालेको नेप्सेमा करिब ३० प्रतिशतको बढोत्तरीपछि प्राविधिक विश्लेषकहरुले नेप्से घट्ने अनुमान सार्वजनिक गरेका थिए । सोही अनुसार लगानीकर्ताले सोमबारको बजारमा ठूलो रकम नाफा सुरक्षित गर्दा नेप्सेमा गिरावट आएको एक ब्रोकरले बताए ।
यस्तै नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने डेढ १ खर्ब बरारबको आन्तरिक ऋण उठाने तालिका सार्वजनिक भएपछि आगामी दिनमा तरलतामा थप चाप पर्ने आंकलन गर्दै लगानीकर्ताहरुले बजारबाट प्रोफिट बुक गरेको एक विश्लेषकले नोटबजारलाई बताए ।
सोमबार नै नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थको बक्यौता रकम तिर्न १३ अर्ब रुपैयाँ बुझाएकाले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप घटेको छ । यस्ता विविध कारणहरुको असर धितोपत्र बजारमा परेको हो ।
सोमबार ठूलै करेक्शन आएपनि बजार अझै बुलिस प्रवृत्तिमा रहेकाले दीर्घकालीन लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको लगानीकर्ता रौनियारले बताए ।
हल्लै हल्लामा प्रोफिट बुकिङ्ग भएपनि सेयर बिक्री गरेकाले बजारमा पुनः घटेपछि लगानी बढाउने हुँदा बजारउकालो लाग्ने उनको भनाई छ ।
राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार अवैध रहेको भन्दै त्यसमा संलग्नलाई कारवार्ही गर्ने घोषणाले पनि लगानीकर्तामा मनोबैज्ञानिक असर परेको हुनसक्ने उनको बुझाई छ ।
अर्कोतर्फ चैतभित्र सरकारले डेढ खर्ब आन्तरिक ऋण उठाउने सुरसार गर्दै शुक्रबार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तालिका सार्वजनिक गरे पनि बजारमा तरलता अवस्था हेरेर मात्र आन्तरिक ऋण उठाउँदा थप चाप नपर्ने गरी उठाउने भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए ।
पुससम्म सरकारले ट्रेजरी बिल्समार्फत वार्षिक लक्ष्यको २.५ प्रतिशत अर्थात ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । दोस्रो त्रैमासभित्र वार्षिक लक्ष्यको ४२.१ प्रतिशत उठाउनले लक्ष्य सरकारको छ । जसमा ट्रेजरी बिल्स मार्फत ४४ अर्ब, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्र मार्फत २ अर्ब रुपैयाँ गरी आन्तरिक ऋण उठाउने सरकारको तयारी छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमा २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋणको लक्ष्य कायम गरिएको थियो ।
सोमबार नेप्से ३.४३ प्रतिशत अर्थात १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा झरेको छ । बिहानैदेखि उच्च बिक्रीचापको सामना गरेको आएको बजार त्यसपछि निरन्तर घट्दो क्रममा रहेको थियो ।
दिनभरमा २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर १ लाख १३ हजार २०५ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँमा समेटिएको छ । आइतबार ७ अर्ब ३ करोडको सेयर कारोबार भएकोमा उच्च प्रोफिट बुकिङ्गकै कारण कारोबार रकममा समेत १ अर्ब ८३ करोडको बढोत्तरी भएको छ ।
विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट
यसदिन विन लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर लगानीस्कर्ताले सर्वाधिक ७.८२ प्रतिशतले गुमाएका छन् । माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, ओरियन्टल होटल र सामलिङ्ग पावर लिमिटेडको सेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ३४ लाख मूल्यका ७ लाख २६ हजार ५७५ कित्ता सेयर खरीद बिक्री भएका हुन् । यस्तै एनआईसी एशिया बैंक ३६.७३ करोड, अरुण भ्याली हाइड्रोपावर ३०.४९ करोड, अपर तामाकोशी २०.२६ र नेपाल टेलिकमको १९.४२ करोडको सेयर कारोबारमा आएको छ ।
सोमबारको घटाइपछि सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३९ खर्ब ८६ अर्ब १२ करोड २८ लाख रुपैयाँमा झरेको छ । सोमबार मात्रै बजार पूँजीकरण १ खर्ब ४१ अर्बले घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया