आयातमा आधारित अर्थतन्त्रमा रेमिट्यान्सले विकृति बढायो : बैंक सञ्चालक


अर्थतन्त्रमा जोखिम बढेको संकेत देखिनुमा रेमिट्यान्स प्रमुख कारकको रुपमा देखा परेको छ । रेमिट्यान्सले अस्वभाविक आयात बढाएपछि अर्थतन्त्र मै समस्या देखिएको हो ।

कुल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष योगदान नभएपनि अर्थतन्त्रलाई गति दिनमा मूख्य भुमिका निर्वाह गरेको रेमिट्यान्सले विकृतीहरु पनि भित्राएको नबिल बैंक अध्यक्ष उपेन्द्र पौडेलले बताए । “रेमिट्यान्सका कारण उपभोग बढ्यो,”पौडेलले भने,“रेमिट्यान्सको सहयोगमा वृद्धि भएको उपभोगले आयात अस्वभाविक बढायो ।”

पछिल्लो समयमा बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको बढ्नुमा उच्च आयात मूख्य रहेको उनको बुझाई छ । रेमिट्यान्सका भरमा आयातित बस्तुहरुको उपभोग बढाउँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनको भनाई छ ।

वित्तीय प्रणालीमा देखिएको समस्या नेपाल राष्ट्र बैंकले तत्कालका तत्काल ल्याउने गरेको नीतिका कारण पनि जटिल बनेको उनले बताए । पछिल्लो समयमा देखिएको वित्तीय क्षेत्रको समस्यामा बैंक वित्तीय संस्थाको पनि कमजोरी रहेको बताउँदै उनले भने,“ बैंक वित्तीय संस्था अनुसाशित छ, तर, ज्यादै अनुसाशित छैनन् ।” बैंक तथा वित्तीय संस्थाहरुले क्षमता भन्दा धेरै ग्रोथ गर्न खोज्दा पनि समस्या समस्या जटिल बन्दै गएको छ । लगानीकर्तालाई प्रतिफल धेरै दिने दबाबमा बैंकहरुले एक पछि अर्को गल्ति दोहोर्याएको उनले बताए ।

बैंक वित्तीय संस्थाले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सहयोग पुग्ने गरी लगानी गर्न समेत उनले सुझाएका छन् । अहिले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको उनले बताए । नेपाल राष्ट्र बैंकलै कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत लागु गर्नु नराम्रो नभएपनि केहीसमस्या नदिएको हुनले त्यसले तरलता समस्या जटिल बन्नमा मद्दत गरेको उनको तर्क छ । तर, नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको फि आम्दानी निकै न्यून भएको हुनाले त्यसलाई केही खुकुलो बनाउन समेत उनले आग्रह गरे ।

केही बैंकका कारण सम्पूर्ण बैंकिङ क्षेत्र नै बदनाम हुन पुगेको बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बताए । एनएमबी बैंकको अध्यक्ष समेत रहेका गोल्यानले नेपाल राष्ट्र बैंकले सानो भन्दा सानो विषयलाई नियमन गर्नु पर्ने कारण बैंकहरुले नै सृजना गरेको बताए । “गतल गर्नेलाई कारबाही गर्नु पर्छ,” उनले भने,“कुनै एक संस्थाले गरेको गल्तिका कारण सबै बैंक वित्तीय संस्था अफट्यारोमा पर्ने काम गर्न भएन ।”

आगामी दिनमा बैंक वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने उनको तर्क छ । उत्पादनमूलक क्षेत्र बाहेका लगानीमा ब्याजदर निर्धारण गर्न बैंकहरुलाई नै छोड्नु पर्ने समेत उनले सुझाए । बैंक वित्तीय संस्थाले आक्रामक रुपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेको बताउँदै उनले भने,“अनुत्पादक क्षेत्रमा आक्रामक लगानी गरेका बैंक वित्तीय संस्थाले पनि त्यसलाई घटाउँदै उत्पदानमुलकमा जोड दिनु पर्छ ।”

अहिले आयात अस्वभाविक बढेको र रेमिट्यान्स आप्रवाह घटेको उनले बताए । अस्वभाविक आयातका कारण भुक्तानी सन्तुलन बिग्रिएको बताउँदै उनले भने,“यसलाई समयमा नै व्यवस्थापन नगरे भोलिका दिनमा दैनिक उपभोग्य बस्तुहरुको आयात गर्न समेत समस्या हुन्छ ।”
बैंकिङ विज्ञ विएन घर्तीले पछिल्लो समयमा बैंकहरुबाट अस्वभाविक रुपमा चालु कर्जा गएको बताए । बैंक वित्तीय संस्थाले आयात र कम उत्पादनमूलक क्षेत्रमा आक्रामक रुपमा लगानी गर्दा आयात उच्च बढेको उनको बुझाई छ । आयात नियन्त्रण गर्न, रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भित्र्याउन तथा वित्तीय क्षेत्रको समस्याको दिर्घकालिन समस्याको समाधानका लागि संरचनागत सुधारको जरुरी रहेको घर्तीले औंल्याए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।