काठमाडौँ । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा पौने ७ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूको कृषि क्षेत्रमा कर्जा लगानी ६ खर्ब ७५ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको हो ।
वाणिज्य बैंकहरूले कृषिपछि ऊर्जा क्षेत्रमा बढी कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको कर्जा लगानी ५ खर्ब ८३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा ५ खर्ब ३३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी भएको छ । पर्यटन क्षेत्रमा २ खर्ब ३७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ लगानी भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा १६ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी भएको छ । सबैभन्दा कम कर्जा भने आन्तरिक कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगमा गएको छ । यस क्षेत्रमा वाणिज्य बैंकहरूले ६५ करोड ४९ लाख रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् ।
विकास बैंकको पर्यटन क्षेत्रमा बढी कर्जा
विकास बैंकहरूले कृषि क्षेत्रमा ३२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंकहरूको सबैभन्दा बढी कर्जा लगानी भने पर्यटन क्षेत्रमा रहेको छ । यस क्षेत्रमा ३९ अर्ब ३१ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै, लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा ३५ अर्ब ८० करोड ५७ लाख रुपैयाँ र ऊर्जा क्षेत्रमा १२ अर्ब ६३ करोड ६ लाख रुपैयाँ कर्जा लगानी भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा विकास बैंकहरूको कर्जा लगानी १४ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आन्तरिक कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगमा ५२ लाख रुपैयाँ मात्रै कर्जा लगानी भएको छ ।
वित्त कम्पनीको कृषिमा झन्डै ९ अर्ब लगानी
वित्त कम्पनीहरूले कृषि क्षेत्रमा ८ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । वित्त कम्पनीहरूको कृषि क्षेत्रमा भएको लगानी लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा भएको लगानीभन्दा केही बढी छ । राष्ट्र बैंकका अनुसार वित्त कम्पनीहरूले लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा ८ अर्ब ६९ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यस्तै, पर्यटन क्षेत्रमा ५ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ र ऊर्जामूलक उद्योगमा ५० करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।







