बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौं टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई मंगलबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।
व्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगो बमोजिम १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्राउ गरिएको जानकारी दिइन् ।
पक्राउ परेकी बुढाथोकीले आफ्नो सिद्धार्थ बैंक लिमिटेड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले पक्राउ परेकी बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेकी बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि मंगलबारै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया