हिमालयन हाइड्रो एक्स्पो शनिबार सुरु हुँदै, दैनिक १० जना अवलोकनकर्तालाई इण्डक्सन चुल्हो


तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गते शनिबारदेखि सुरु हुने भएको छ । शनिबार बिहान विद्युतीय सवारी साधनको र्‍याली सकेर उद्घाटन हुने एक्स्पोका अवलोकनकर्तालाई दैनिक १० वटा इण्डक्सन चुल्हो वितरण गरिने भएको छ ।

यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना गर्ने तयारी गरिएको एक्स्पो चैत १८ मा घोडेजात्रा परेका कारण एक दिनपछि सारिएको हो । कार्यक्रमस्थल भृकुटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रवेश तथा नियन्त्रण गर्ने भएका कारण तालिका सारिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधनको र्‍याली आयोजना हुने भएको छ । विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधनसम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि उक्र्त याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

डेढ सय विद्युतीय सवारी साधन सहभागि हुने अनुमान गरिएको उक्त र्‍याली काठमाडौंको भृकृटीमण्डपबाट सुरु भएर नेपालकै पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा र्‍यालीका सहभागीहरुलाई पर्यटनमन्त्री प्रेम आलेले स्वागत गर्नेछन् ।

यस एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड छ भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका छन् । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेका छन् ।

एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ। एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया संचालनको कार्यतालिका रहेको जनाइएको छ ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल बुकिङ भइसकेका छन्। जसमा विदेशी स्टलसमेत रहेका छन् ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।

प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरुमध्ये १० जनालाई गोलाप्रथाका माध्यमबाट विद्युतीय चुलो प्राप्त गर्नेछन् ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको यो एक्सपोको सबै तयारी सकिएको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।