विवेकशील साझाका अध्यक्ष मिश्रले दिए राजीनामा


स्थानीय तह निर्वाचन २०७९ मा विवेकशील साझा पार्टीले अपेक्षित नतिजा देखाउन नसकेको भन्दै पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले राजीनामा दिएका छन् । पछिल्लो ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा नेतृत्व सम्हालेका मिश्रले निर्वाचनमा आएको परिणामको जिम्मेवारी आफैँले लिएको र नैतिकताका आधारमा अध्यक्ष पटबाट राजिनामा दिएको बताएका छन् ।

पार्टीको साधारण सदस्यका रुपमा रहेर काम गर्ने बताएका मिश्रले आफ्नो पार्टीका उम्मेदवारहरु इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रुपमा आफुले लिनुपर्ने बताएका छन् ।

बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने मिश्रले बताएका छन् । आफुले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न विजेताहरुलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् ।

५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पार्टी निर्माणमा विभिन्न तह र भूमिकामा रहेर सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै मिश्रले उनीहरुको अपेक्षा पुरा गर्न नसकेकोमा उनले दुःख व्यक्त गरेका छन् ।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुने बताएका मिश्रले यस अघि कार्वाहीमा परेका सबैलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

“विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई(तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो । सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु । त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु, मिश्रले भनेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।