राइड हेलिङ एप इनड्राइभरले काठमाण्डौंमा सुरु गर्यो सेवा, चालकसँग कमिशन नलिने


अन्तरराष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौंमा औपचारिक रुपमा आफ्नो सेवा सुरु गरेको छ । यस अघि नै अनौपचारिक रुपमा सेवा सञ्चालन गर्दै आएको इनड्राइभरले औपचारिक रुपमा आफ्नो उपस्थिती जनाएको हो ।

इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्ने जनाएको छ । एउटै एपमा यात्रु र चालकले सेवा लिन र दिन सक्ने गरी निर्माण गरिएको एपका प्रयोगकर्ता काठमाण्डौंका साथै अन्य शहरमा पनि छन् । यद्यपी कम्पनीले भने काठमाण्डौंलाई आफ्नो सेवाको केन्द्र बनाएको हो ।

इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् । न्युनतम मूल्यदेखि अधिकतमसम्मको कुनै पनि मुल्यमा यात्रुले चालकलाई बोलाउन सक्ने व्यवस्था एपमा छ ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गरिएको इनड्राइभरले जनाएको छ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको विबरणका आधारमा छनोट गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
“हामी इनड्राइभर नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउनेछौं,” इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन ।

कम्तीमा सेवा सञ्चालनको शुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन नलिने बताएकी उनले त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइड हेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुने बताइन् । अहिले उपत्यकामा सञ्चालनमा रहेका अन्य सेवाप्रदायकहरुले २० प्रतिशतसम्म कमिशन लिँदै आएका छन् ।

इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको छ । राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ ।

सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने वा अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।
इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथ सम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभरका बारेमा

इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटासबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो ।

यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन्।् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।

इनड्राइभरले अन्तरशहर यातायात, फ्रेट तथा कार्गो सेवातथाविभिन्न सञ्चालनशहरमा डेलिभरी लगायतका अन्य सेवा पनि प्रदान गर्दछ ।

इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ ।

यसले हाल १ हजार ७०० जनालाई रोजगारी दिएको छ ।

२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानी सहित यूनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेठ २०७९, बुधबार  १३ : ५९ बजे