२१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनामा एनएमबि बैंक मुख्य लगानीकर्ता


एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह–वित्तीयकरणमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।

२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैंया रहेको छ भने बैकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रुपैंया रहनेछ ।
यो आयोजना समेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको इन्भायरोमेण्ट एण्ड सोसियल मिटिगेसन गाइडलाइन्स अनुसार एनएमबि बैंकले इन्भायरोमेण्ट एण्ड सोसियल पोलिसी तयार गरी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मासात गर्दै जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्घता जाहेर गरेको जनाएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर नेपाल” प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।