दक्षिण कोरियाबाट फर्किएका नेपालीलाई नेपालमै रोजगारी दिन एक अर्ब सहयोग

0
Shares


दक्षिण कोरियाली सरकारले कोरियामा श्रम गरी नेपाल फर्किएका नागरिकलाई रोजगारीको अवसर सिर्जना गर्न १ अर्ब (८० लाख डलर) सहयोग गर्ने भएको छ ।

यो सहयोगबाट प्राप्त रकम “कोरियाबाट नेपाल फर्किएका आप्रवासीहरूको स्थीरीकरणका लागि चरणबद्ध रुपमा रोजगार विकास” योजना अन्तर्गत कोरिया अन्तराष्ट्रिय सहयोग एजेन्सी (कोइका) र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार शाखाको मातहतमा रहेको रोजगार अनुमति प्रणाली कोरिया शाखाद्धारा सञ्चालनमा आउने भएको हो ।

यो आयोजना सन् २०२२ बाट आगामी सात वर्ष सम्म सञ्चालित रहनेछ । यस आयोजनाको मुख्य उद्देश्य कोरियाबाट नेपाल फर्किएका नेपाली नागरिकको सामाजिक तथा आर्थिक जीवनस्तर वृद्धि गरी उनीहरुमा रहेको उद्यमशीलतालाई उजागर गर्नु रहेको छ । कुनै पनि उद्यम सञ्चालनमा ल्याउन पुँजी आवश्यक पर्ने हुँदा, यस आयोजनाले कोरियाबाट फर्किएका नेपाली श्रमिकहरुको लागि पुँजी तथा व्यवसाय विस्तारमा आवश्यक पर्ने सम्पूर्ण सुविधा विस्तारमा सहयोग पुराउने छ ।

यस आयोजना अन्तर्गतको पुँजी परिचालनका लागि नेपालको कृषि विकास बैंकसँग समन्वय गरिएको छ । यसका साथै नेपाल फर्किएका आप्रवासीहरुलाई एकीकृत रुपमा सेवा दिन वान स्टप मोबाइल प्लेटफर्मको पनि विकास गरिने भएको हो ।

यस योजनाको सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र कोरियाको तर्फबाट कोइकाका देशीय प्रमुख सुङहुङकोले आज हस्ताक्षर गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।