असार दोस्रो साता ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला


आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर: ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्ता लगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएशनले जनाएको छ ।

नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए ।

गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्तालाई सहजीकरण गर्ने उनले बताए ।

सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मण्यताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने उनको विश्वास छ ।

कार्यक्रममा जलविद्युत लगानिकर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनियर, निर्माण व्यवसायी, बैंकर, बीमा तथा पुनर्बीमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्याङ्कनकर्ता, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारी र सम्बन्धित अन्य व्यवसायी तथा इन्छुक व्यक्तिहरुको सहभागिता हुनेछ ।

जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखि आ–आफ्नो ज्ञान आदान प्रदान तथा बृहत छलफल र प्रस्तुति हुने आयोजकले जनाएको छ ।

पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर ठुला ठुला समस्याहरु देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न लागेको हो । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने तथा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल विशिष्ट अतिथ्यता रहने एसोसिएसनले जनाएको छ ।

चार वटा सत्रमा सञ्चालन हुने गोष्ठीमा बीमा, जलविद्युत र सर्भेयरका तर्फबाट विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र सोही प्रस्तुतिमा छलफल हुनेछ । एसोसिएसनले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख र मार्केटिङ विभाग प्रमुख, नियामक निकायदेखि सरोकारवाला निकायहरुलाई गोष्ठीमा सहभागिताका लागि आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।