बैंक वित्तीय संस्थाका सञ्चालकहरूले प्रधानमन्त्रीलाई बुझाए तीन महले सुझाव, तरलता सहज बनाउन जोड


बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग तरलताको समस्या समाधान तथा विप्रेषणको व्यवस्थापनका लागि आग्रह गरेका छन् । बिहीबार बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरी तीन महले सुझाव बुझाएको हो । 

भेटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावको न्यूनिकरण र समस्याग्रस्त उद्योग व्यवसायको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरूको स्तरोन्नतिका लागि आग्रह गरेका थिए । 

आयातनिर्यातको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवर्द्धन र उद्यमशीलताको विकास सहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा उनले प्रधानमन्त्री देउवालाई अध्ययनले देखाएका सुझाव बारे जानकारी गराएका थिए । 

अध्ययन प्रतिवेदनहरूले औँल्याएका निष्कर्ष एवं सुझावहरूको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न गोल्यानले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । 

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले पेश गरिएका प्रतिवेदनको निष्कर्ष तथा सुझावहरूको बारेमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए । 

आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरूको बारेमा सिबिफिनको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेको परिसंघका अध्यक्ष गोल्यानले जानकारी दिए । 

भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ विज्ञको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठ्याराचुनौतीहरू र सम्बोधनका लागि सुझावहरु ०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु ०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार भएको बैक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा पारेको प्रभाव २०७९, लगायतका रायसुझावसहितका प्रतिवदेन र वर्तमान समयमा जल्दाबल्दा देखिएका विभिन्न आर्थिक एवं वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरूमा तयार तीन महले सुझाव समेत प्रधानमन्त्रीलाई बुझाइएको गोल्यानले बताए ।

सिबिफिनले बुझाएका प्रतिवेदन तथा र सुझाव बुझ्दै प्रधानमन्त्री देउवाले सुझाव र प्रतिवेदनहरूले औँल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरू र निर्यातजन्य वस्तुहरू, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरूमा जिज्ञासा राखेका थिए । त्यसैगरी वर्तमान अवस्थामा देखिएका समग्र चुनौतीहरूको समाधान गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने आश्वासन पनि प्रधानमन्त्री देउवाले दिएका थिए । 
 
प्रधानमन्त्रीको निजी सचिवालय, बालुवाटारमा भएको उक्त भेटघाट तथा छलफलमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनको प्रतिनिधि मण्डलमा उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो । साथै, उक्त भेटघाटमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ समेत सहभागि थिए । 

नेपाल सरकारका विभिन्न निकायहरुबाट प्रकाशित प्रतिवेदनहरुमा औंल्याइएका आर्थिक एवं वित्तीय सूचकाङ्कहरुले मुलुकको अर्थतन्त्र जटिलतातर्फ उन्मूख भइरहेको विषयले साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र निजी क्षेत्रका व्यक्तिहरूमा समेत अर्थतन्त्रका बारेमा चिन्ता र चासो बढाएकोे वेलामा प्रधानमन्त्रीसमक्ष गरिएको यो भेटघाट उपलब्धिमूलक भएको सिबिफिनले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।