डिजिटल कारोबार बढेपछि पछिल्लो ६ महिनामा एक खर्ब रुपैयाँ सिस्टममा फर्केको छ: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार बढेकाले खर्बौ रुपैयाँ चलनचल्तिबाट नेपाल राष्ट्र बैंक फर्केको बताएका छन । उनले गत कात्तिक पछि मात्र केन्द्रीय बैंकमा एक खर्ब भन्दा धेरै रकम बजारबाट फर्केको जानकारी दिए ।

गभर्नर अधिकारीले गत कात्तिक १ गते हालसम्मकै उच्च ७२८ अर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन रहेको जानकारी दिए । अहिले त्यो घटेर अहिले ६२६ अर्बमा झरेको जानकारी दिँदै गभर्नर अधिकारीले भने, “पछिल्लो ६ देखि ७ महिनाको अवधिमा झण्डै एक खर्ब भन्दा धेरै नोट सर्कुलेसनबाट केन्द्रीय बैंक फर्किइसकेको छ । यो भनेको डिजिटल करेन्सीमा भएको सुधारले नै हो । ।”

दशैं र तिहारमा नोट सर्कुलेसन करिब ४० देखि ५० अर्बले बढ्ने बताउँदै उनले डिजिटल कारोबार बढ्दै जाँदा बैंक नै नचाहिने हो की भन्ने अवस्था सृजना नहुने जिकिर गरे । उनले डिजिटल करेन्सीको सन्दर्भमा धेरै सुरक्षीत रुपमा अघि बढ्ने समेत विस्वास दिलाए ।

विश्वव्यापी रुपमा बढेको डिजिटल करेन्सीको सन्दर्भमा दक्षिण एसियाली राष्ट्रहरु साझा मुद्रामा जानुपर्ने उनले बताए । दक्षिण एसियाली क्षेत्रमा पेमेन्ट र सेटलमेन्टको बारम्बार समस्या आइराख्ने गरेको बताउँदै उनले भने,“किन यसमा हामी सेन्ट्रल बैंक डिजिटल करेन्सीमा गै राख्दा कमन करेन्सीको अवधारणामा नजाने त ? नेपालको प्रस्तावको अध्ययन सुरु भएको हुनाले त्यसको नेतृत्व पनि नेपाले नै गरिरहेको छ ।” साउथ एसियाका सबै केन्द्रीय बैंकहरुको संयुक्त टिम उक्त अध्ययनमा सहभागि रहको समेत उनले जानकारी दिए । नेपाल राष्ट्र बैंकले आफ्नो डिजिटल करेन्सी सम्बन्धमा अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन समेत तयार भैसकेको उनले बताए ।

डिजिटल करेन्सीको सुरुवातपछि बैंकहरु नै नचाहिने अवस्था आउँछ की भन्ने बैंकहरुको प्रश्नमा उनले त्यस्तो डराउनु पर्ने अवस्था नहुने बताए । पछिल्लो समयमा सिङगापुर लगायतका केही देशले डिजिटल बैंकको लाइसेन्स नै वितरण गर्न पनि सुरु गरीसकेको उनले जानकारी दिए ।

डिजिटल करेन्सीको सुरुवातपछि भौतिक मुद्रा पनि प्रचलनमा रहने बताउँदै उनले भने,“दुबै करेन्सी चाहिन्छ । फिजिकल करेन्सी हुन्छ हुन्छ । धेरै र थोरै भन्ने मात्र हो । डिजिटल मुद्रालाई गाँउमा पुर्याउन समय लाग्छ । यो ल्याउनु पर्छ । यसमा हामी जानै पर्छ । सबै बैंकिङ प्रणाली नै तरङ्गीत हुने गरी आउँछ की भन्ने नसोच्दा हुन्छ ।”

डिजिटल करेन्सीको जोखिम भनेको साइबर सेक्यूरीट भएकाले यसलाई कसरी न्यूनीकरण गर्ने र सुरक्षीत बनाउने भन्ने विषयमा धेरै छलफल चलिरहको समेत उनले बताए । विश्वका ९० प्लस बैंकहरुले डिजिटल करेन्सीको विषयलाई प्राथमिकतामा राखेका छन् । विगत केही समय देखि डिष्ट्रिब्यूटेबल लेजर टेक्नोलोजी विश्व मै तरङग पैदा गरेको समेत उनको बुझाइ छ । तर, त्यो करेन्सी नभई स्प्याकुलेटिभ एसेट मात्र रहेको जानकारी उनले गराए । “यो यति भोलाटायल छ, यो मान्छेलाई फसाउने कुरा हो,” गभर्नर अधिकारीले भने,“ यहि खालको विश्वास प्राइभेट एसेटमा गयो भने अर्थतन्त्र नै नियन्त्रण भन्दा बाहिर हुने पक्का छ ।”

प्राइभेट एसेटको विश्वास सर्वसाधारण बढ्दै जाँदा केन्द्रीय बैंकले कहाँ बाट क्यालकुलेसन गर्ने भन्ने पनि हुने उनले बताए । त्यसलाई सम्बोधन गर्नका लागि पनि सेन्ट्रल बैंक लाग्नु पर्यो भनेर डिजिटल करेन्सीको प्रक्रिया अघि बढेको उनको तर्क छ । डिजिटल करेन्सी सेन्ट्रल बैंकले किन नल्याउने त भनेर संसारभरी नै अभ्यास सुरु भएको उनी बताउँछन । डिजिटल करेन्सीले रातारात फिजिकल करेन्सीलाई प्रतिस्थापन नगर्ने समेत उनको जिकीर छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।