एमालेले अवरुद्ध गर्ने बताएपछि संसद् बैठक अझै सुरु हुन सकेन

0
Shares

प्रतिनिधि सभाको बुधबार ११ बजेका लागि बोलाइएको बैठक साढे १ बज्दासम्म पनि बस्न सकेको छैन ।

अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिएपछि तोकिएको निर्धारित समय समाप्त भएको साढे २ घण्टा व्यतित भइसक्दा समेत बैठक बस्न नसकेको हो ।

एमालेले शर्माले संसद्को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको हो ।

बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर दिउँसाे २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका सहासचिव भरतराज गौतमले जानकारी दिए ।

बजेट निर्माणका क्रममा जेठ १४ गते राति मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको आरोप प्रमुख प्रतिपक्षी दल एमालेको छ । एमालेले त्यसको छानबिन गर्नुपर्ने माग यसअघि देखि नै गर्दै आइरहेको छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच मंगलबार साँझ बालुवाटारमा बुधबार संसदीय छानबिन समिति गठन गर्ने र अर्थमन्त्री शर्मामाथि छानबिनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

अहिले सरकारमा रहेका मन्त्रीहरू अर्थमन्त्री प्रकरणमा एमाले नेताहरूसँगको छलफलमा रहेका छन् । एमालेले संसद् बैठक अवरुद्ध गर्ने बताएपछि संसद्मा अर्थमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सरकारका मन्त्रीहरु एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफलमा जुटेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।