शिखर इन्स्योरेन्सद्धारा गत आवमा ५०१ करोड बीमाशुल्क संकलन

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले आर्थिक वर्ष २०७८।७९ मा ५ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । योसँगै शिखर इन्स्योरेन्स नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलोपटक ५ अर्बको व्यवसाय गर्ने पहिलो निर्जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षमा संकलित प्रिमियम अघिल्लो आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा २६.२० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगट्ने गरेको छ ।

कम्पनीले परेका कुल २२ हजार ७६८ दाबीमध्ये १९ हजार ३८५ दाबीको करिब ३ अर्ब रुपैयाँ व्यवस्थापन गरिसकेको छ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले यस आर्थिक वर्षलाई दाबी फछ्र्योट वर्षको रूपमा मनाइँरहँदा यस कम्पनीले परेका दाबीमध्ये करिब ८५ प्रतिशत बीमा दाबी भुक्तानी गरी उत्कृष्ट नतिजा प्रदर्शन गरेको छ ।

बीमितको दाबी समयमै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरेर बीमितलाई परेको बेला सहयोग गरेमा बीमाबारेको जनचेतना तथा आस्था एवम् विश्वास जाग्छ, अनि व्यवसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।
नेपालको विकट जुम्ला, हुम्ला, कालीकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पाजस्ता विकट जिल्लासहित कुल ११० वटा शाखा मार्फत यस कम्पनीले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेका अनुसार कम्पनी सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएकै कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।