एनआईबिएल एस क्यापिटल ११ औं वर्षमा, १८८ कम्पनीको आईपिओ निष्काशन


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको १० वर्ष पूरा भएको छ ।

आफ्नो १० वर्षे सफल कार्यकालमा क्यापिटलले १८८ कम्पनीको साधारण सेयर तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा काम गरेको क्यापिटलले जनाएको छ । क्यापिटलले हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको काम गरिरहेको छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआईबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख लगानीकर्तालाई डिम्याट खाता तथा २ लाख २५ हजारलाई मेरो शेयर सेवा दिँदै आएको छ ।

१० वर्ष पूरा गरेको अवसरमा क्यापिटलले प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । डिम्याट खाताको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण गरिदिने जनाएको क्यापिटलले १० रुपैयाँमा मार्केट एक्स्पर्ट सेवा उपलब्ध गराउनेछ । व्यवस्थित लगानी योजना (एसआईपी) को धन्यवाद अफरमा लगानीकर्ताहरु मध्ये बाट १० जनालाई १० हजार रुपैयाँ बराबरको इकाई प्रदान गरिने जनाएको छ । यसका साथै एसआईपीमा सहभागी हुने बालबालिका लाई आकर्षक उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ ।

यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्म लागू हुने र अफरहरुमा शर्त लागू हुने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।