नेपाल पुनर्बीमा कम्पनीलाई जीवन बीमा व्यवसायबाट ३ करोड नोक्सानी, निर्जीवनबाट ६० करोड कमाई

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को तेश्रो त्रैमाससम्म जीवन बीमा तर्फ भने २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा १० करोड १० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको कम्पनी हाल सो व्यवसायतर्फ नोक्सनी ब्यहोरेको हो ।

नेपाल रि-इन्स्योरेन्स गत आवको तेस्रो त्रैमाससम्म निर्जीवनतर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

अघिल्लो आवको यसै अवधिमा कम्पनीले ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा व्यवसायको आय ३६.९८ प्रतिशत घटेको हो ।

अघिल्लो आव २०७७/७८ को तेस्रो त्रैमासमा जीवन तथा निर्जीवन दुबै व्यवसायबाट कम्पनीले ९२ करोड ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आव २०७८।७९को तेस्रो त्रैमासम्म कम्पनीको नाफा ५७ करोड २३ लाख ८६ हजारमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा ३८.१७ प्रतिशत कम हो ।

नेपाल सरकारले नेपाल रि लाई सुनिश्चित गरेको प्रतक्ष्यतर्फको २० प्रतिशत व्यवसाय अर्को पुनर्बीमा कम्पनी हिमालयन रि लाई आधा बाँडेपछि त्यसको असर कम्पनीमा परेको हो । यस्तै कम्पनीले कोभिड इन्स्योरेन्स लगायतमा दाबी भुक्तानी दोब्बर गर्दा समेत नाफामा असर पुगेको छ । कम्पनीको व्यवस्थापन लगायतका अन्य खर्चहरु समेत बढेका छन् ।

कम्पनीले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा नेपाल रिले ७ अर्ब ८६ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जसमा निर्जीवन बीमा व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्दा जीवन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीको कुल बीमाशुल्क संकलन ८ अर्ब ७८ करोड ७६ हजार रुपैयाँ रहेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आवमा कुल ६ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेको थियो । एक वर्षको समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क संकलन भने २८.८६ प्रतिशतले बढेको छ ।

कम्पनीले पुर्नबीमा कमिसन वापत १ करोड ४९ लाख ७२ हजार रुपैयाँ, लगानीक कर्जा तथा अन्यबाट ३३ करोड १७ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ ३ अर्ब १० करोड १६ लाख ९ हजार र जीवनतर्फ ९६ करोड ३० लाख १५ हजार गरी कुल ४ अर्ब ६ करोड ४६ लाख २४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको दाबी भुक्तानी ह्वात्तै बढेपछि खुद नाफामा गिरावट आएको हो । अघिल्लो आवको तुलनामा आव २०७८।७९ को तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १०४ प्रतिशत धेरै खुद दाबी भुक्तानी गरेको छ । यस्तै कम्पनीले २ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुर्नबीमा कमिसन वापत खर्च गरेको छ ।

चुक्ता पूँजी भएको ११ अर्ब ६५ करोड रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ५० करोड ९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको जगेडा कोषमा निर्जीवन तर्फ ३ अर्ब ९१ करोड ४ लाख ४ हजार रुपैयाँ र जीवन बीमा तर्फ ५९ करोड ५ लाख ४८ हजार सञ्चित छ । त्यस्तै निर्जीवन तर्फ बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ६.५५ रुपैयाँ, किताबी मूल्य (प्रतिसेयर नेटवर्थ) १६०.५१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६२.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५७.२१ प्रतिशत छ ।

कम्पनीले चैत मसान्त्सम्म ४ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ अर्ब ३ करोड ६५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले २ अर्ब ६ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गर्दा २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ भुक्तानी बाँकी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ साउन २०७९, शुक्रबार  १२ : ०३ बजे