लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ देखि २० प्रतिशत हकप्रद बेच्ने


लुम्बिनी जनरल इन्स्योरेन्सले यही कात्तिक २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्नका लागि गत असोज ८ गते अनुमति दिएको थियो ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा चुक्ता पूँजीको २० प्रतिशतले १७ लाख ६० हजार कित्ता हकप्रद २४ गतेदेखि बिक्रीमा ल्याउनेछ ।

हकप्रद शेयरका लागि असोज २७ गते बुकक्लोज भैसकेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् ।

असोज १५ जते नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ३४६ रुपैंयामा किनबेच भएको लुम्बिनी जनरलको शेयर कात्तिक १४ गते बिहीबार प्रतिकित्ता ३१४ रुपैंयामा किनबेच भएको थियो ।

हकप्रद निष्काशनमा शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । इन्स्योरेन्सको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन गर्न सकिनेछ । डिल्लीबजारस्थित बाटुले घरमा रहेको सिबिआईएल क्यापिटलको कार्यालय, सिटिजन्स बैंकका देशभरीका सबै शाखाका साथै आस्वा सदस्य बैंक र केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरबाट पनि आवेदन गर्न सकिन्छ ।

८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ्ग दिएको छ ।