यती एयरलाइन्सले टिकट खरिदमा १ हजारसम्म क्यासब्याक दिने


यती एयरलाइन्सले यात्रुहरुको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ ।

एयरलाइन्सका विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत खरिद गर्दा ३०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मको क्यासब्याक हुने एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा “डिस्काउन्ट पनि, क्यासब्याक पनि”अफर ल्याएको हो । यो अफर हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एयरलाइन्सले दाबी गरेको छ । भदौ १८ गतेदेखि सुरु भएको योजना भदौ ३० गतेसम्म सञ्चालन हुनेछ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा बिमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा अफरले यात्रुलाई राहत दिने बताए ।

उनका अनुसार भदौ ३० पछि पनि यो अफरलाई निरन्तरता दिने सक्भावना छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि अफर ल्याइएको बर्तौलाले जानकारी दिए ।

अफरअन्तर्गत फ्लाइट बुकिङमा १ हजारसम्मको छुट र क्यासब्याक तत्कालै तर अलग अलग कारोबारबाट वालेटमा जम्मा हुनेछ । यस्तो कारोबारमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङकर्ताको वालेटमा क्यासब्याक स्वरुप प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।