क्रेडिट रेटिङ एजेन्सीहरुले हालसमम कुल १ हजार ६९० रेटिङ तथा ग्रेडिङ प्रदान गरेका छन् । एक दशकको अवधिमा तीन रेटिङ एजेन्सी संस्थाले विभिन्न कम्पनीहरुको ऋण, साधारण सेयर, डिबेञ्चर, संस्था लगायतको ग्रेङिङ तथा रेटिङ गरेका हुन् ।
नेपालमा क्रेडिट रेटिङ एजेन्सी सञ्चालन भएको एक दशक पुगेको छ । सबैभन्दा पहिलो रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेड विसं २०६९ असोजमा स्थापना भएको थियो । त्यसपछि हालसम्म केयर रेटिङस् नेपाल र इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड थपिएका छन् । यी तीन एजेन्सीले हालसम्म कुल १ हजार ६९० वटा ग्रेडिङ र रेटिङ जारी गरेका छन् । यस अवधिमा रेटिङ वा ग्रेडिङ गर्न आएका आवेदन मध्ये कुल ३३ वटा पूरा नगरी फिर्ता भएका छन् । ती संस्थाले ७७ वटालाई फिर्ता गर्ने सूचना जारी गरेका छन् ।

क्रेडिट रेटिङ एजेन्सीले साधारण सेयर तथा हकपद्र सेयरका लागि ग्रेडिङ तथा ऋण, डिबेञ्चर तथा संस्थालाई रेटिङ गर्छन् । त्यसैगरी सामुहिक लगानी कोष व्यवस्थापकलाई पनि रेटिङ गर्छन् । यसका आधारमा लगानीकर्ता ऋणदालाई जोखिम विश्लेषण गरेर कर्जा दिने वा सेयर डिवेञ्चरमा लगानी गर्ने निर्णय गर्न सक्छन् । यसरी एक पटक दिएको रेटिङ वा ग्रेडिङ एक वर्ष मान्य हुन्छ । त्यसपछि निरन्तर तीन वर्षसम्म रेटिङ कम्पनीको सम्पर्कमा रहेर पुनः पुष्टि गर्नुपर्ने हुन्छ ।
हालसम्म नेपाल धितोपत्र बोर्डबाट क्रेडिट रेटिङको लागि तीन वटा संस्थाले इजाजतपत्र लिई सञ्चालनमा आएका छन् । इक्रा नेपाल लिमिटेड, केयर रेटिङस् नेपाल लिमिटेड र इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले विभिन्न वित्तीय, गैरवित्तीय, निर्माण, बैंक तथा बीमा कम्पनीहरुको क्रेडिट रेटिङ गरिरहेका छन् ।
विसं २०६९ असोजमा नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई क्रेडिट रेटिङ सुरु गरेको इक्रा नेपाल नेपालकै पहिलो क्रेडिट रेटिङ संस्था रहेको छ । यसैगरी विसं २०७४ कात्तिक ३० मा नेपाल धितोपत्र बोर्डबाट क्रेडिट रेटिङको लागि इजाजत लिएको केयर रेटिङ दोस्रो क्रेडिट एजेन्सी रहेको छ । विसं २०७८ चैत ६ गते (सन् २०२२ को मार्च २०) मा इजाजत लिई सञ्चालनमा आएको इन्फोमेरिक्स क्रेडिट रेटिङ तेस्रो क्रेडिट रेटिङ संस्था रहेको छ ।
नेपाल धितोपत्र बोर्डले ३ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको साधारण सेयर, हकप्रद सेयर तथा डिबेञ्चर निष्काशन गर्दा अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउन निर्देशन दिएपछि रेटिङ वा ग्रेडिङ गराउने क्रम बढेको हो । साथै नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिले ५० करोड भन्दा माथि कर्जा लिने संस्थाहरुले अनिवार्य रुपमा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था गरेपछि रेटिङ्ग गराउने संख्थाहरुको संख्या थप बढेको छ ।
इक्रा क्रेडिट रेटिङ एजेन्सीले बैंक, वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, स्थानीय सरकार, कर्पोरेट क्रेडिट, कर्पोरेट डेब्ट, निर्माण कम्पनी, आइपीओ निष्काशन कर्ता, मर्चेन्ट बैंकले गर्ने फन्ड व्यवस्थापनकोे रेटिङ गर्ने गरेको छ । धितोपत्र बोर्डबाट इजाजत लिएको समयदेखि अहिलेसम्म इक्राले कुल १ हजार ५ वटा कम्पनीको रेटिङ/ग्रेडिङ गरेको छ । जसमध्ये २४ वटा कम्पनीको रेटिङ वीथड्रल गरिएको छ भने ३४ वटा कम्पनीलाई वीथड्रल गर्ने सूचना दिइएको छ । रेटिङ गर्नको लागि आवश्यक पर्ने कागजात कम्पनीहरुले उपलब्ध नगराउँदा रेटिङ वीथड्रल गर्ने गरिएको इक्रा रेटिङले जनाएको छ ।
यसैगरी बैंकको कर्जा, बैंकको वित्तीय अवस्था, गैर–बैंकिङ वित्तीय संस्थाहरु, निष्काशनकर्ता, कर्पोरेट कम्पनी, निर्माण कम्पनी, बीमा कम्पनी तथा मर्चेन्ट बैंकहरुको फन्ड व्यवस्थापन क्षमता, उर्जा सम्बन्धी योजनाहरुको रेटिङ तथा ग्रेडिङ केयर रेटिङले गर्ने गरेको छ । धितोपत्र बोर्डबाट इजाजत लिएको समयदेखि यस एजेन्सीले अहिलेसम्म ६७८ कम्पनीको रेटिङ/ग्रेडिङ गरेको छ । जसमध्ये ६ वटा कम्पनीको रेटिङ वीथड्रल भएको छ भने ४३ वटा कम्पनीलाई वीथड्रल गर्ने सूचना दिएको छ ।
इजाजत पाएको ६ महिना अवधिमा इन्फोमेरिक्सले अहिलेसम्म ७ वटा कम्पनीको मात्रै रेटिङ गरेको छ । यो एजेन्सीले बैंक, वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, कर्पोरेट क्रेडिट, निष्काशनकर्ता, बैंक कर्जा, बीमा कम्पनी, बैंकको वर्गीकरण, उर्जा सम्बन्धी योजनाको रेटिङ/ग्रेडिङ गर्दै आएको जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया