सिटिजन लाइफद्धारा संस्थापकहरुलाई पुँजी थप्न आग्रह

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरुलाई चुक्ता पुँजीकाे ५० प्रतिशत पूँजी थप गर्न भनेको छ ।

यसअघि नै संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेको कम्पनीले अपेक्षित पुँजी संकलन नभएको भन्दै पुनः सूचित गरेको हो ।

कम्पनीले यसअघि असोज ७ गते भित्र पुँजी थप्न सूचना जारी गरेकोमा माग बराबरको आवश्यक पुँजी संकलन नभएपछि त्यसलाई बढाएर असोज २६ गतेसम्म पुर्‍याएको छ ।

इन्स्योरेन्सको केन्द्रीय कार्यालय टेकु, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक र सानिमा बैंकको खातामा सेयरधनीले आफ्नो हक बराबरको पूँजी कम्पनीको जम्मा गर्न सकिने सूचनामा उल्लेख छ ।

आगामी चैत मसान्तभित्र पाँच अर्ब रुपैयाँ कायम गर्नुपर्ने बाध्यतामा रहेको कम्पनीको हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ मात्र रहेको छ । हाल माग भएको ५० प्रतिशत पूँजी थपपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यसपछि कम्पनीलाई २ अर्ब ३७ करोड ५० लाख पुँजी कायम गर्नुपर्ने बाध्यता रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब चुक्ता पुँजी कायम गर्न कम्पनीले जारी पुँजी ५ अर्ब कायम गरेर ४९ प्रतिशत (२ अर्ब ४५ करोड) बराबरको प्राथमिक सेयर जारी गरेको खण्डमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सजिलै पुग्ने देखिन्छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत (१ अर्ब ५० करोड) को मात्र सेयर जारी गरेको खण्डमा ४अर्ब १२ करोड ५० लाख पुँजी पुग्नेछ । यसपछि पनि कम्पनीलाई ८७ करोड ५० लाख बराबरको रकम बोनस तथा हकप्रदबाट कायम गर्नुपर्ने अवस्था रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।