बैंकको ब्याजदर बढाउने निर्णय फिर्ता लिन सिएनआई प्रदेश १ को माग


नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले बैंक वित्तीय संस्थाले बैंक वित्तीय संस्थाले बढाएको व्याजदर फिर्ता गराउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सम्बोधन गर्दै सिएनआई प्रदेश १ ले जारी गरेको विज्ञप्तिमा असोजदेखि लागू हुनेगरी बैंक वित्तीय संस्थाले बढाएको व्याजदर प्रति परिसंघको बिमति रहेको जनाएको हो ।

परिसंघ अध्यक्ष भीम प्रसाद घिमिरेले विज्ञप्तिमार्फत भनेका छन्, “प्रत्येक बैंकले अलग अलग प्रतिस्पर्धीका रुपमा असामान्य तरिकाले ब्याजका दरहरु बढाएको सूचनाप्रति नेपाल उद्योग परिसंघ प्रदेश नं १ को गम्भीर ध्यानाकर्षण भएको छ ।

यस बिषयमा हामीले बिगत बर्ष देखि नै पटक पटक निरन्तर रुपमा नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दिएको सुझावको वास्तै नगरी ब्याजका दरहरु वृद्धि गरिएकोमा नेपाल उद्योग परिसंघ प्रदेश नं १ आपत्ति सहित ब्याजका दरहरु वृद्धिको निर्णयप्रति बिमति रहेको जानकारी गराउदछौं ।”

बिगतमा पनि निक्षेप बढाउन बैंकहरुले निक्षेपको व्याजदर बढाउँदा अपेक्षित नतिजा नदेखिएको परिसंघको भनाई छ । राष्ट्र बैकले तरलतामा चाप बढेको स्वीकार गरिसकेको अवस्थामा व्यवसायीले पुँजी निर्माण गर्न व्याजदर बढाएर नभई पुँजीगत सुधार, पुँजीगत खर्च र लगानी बढाउनुपर्नेमा त्यसमा ध्यान नदिइनुले बैंकको नाफा बढाउने नियतसहित निति बनाइएको परिसंघको आरोप छ ।

आर्थिक तथा औद्योगिक क्षेत्रले तरलता अभावको सामना गरिरहेको बेला उपभोक्ताको क्रयशक्ती कमजोर भईरहेकोतर्फ पनि परिसंघले ध्यानाकर्षण गराएको छ । यस्तो अवस्थामा मुलुकमा रोजगारी र राजश्वमा योगदान दिँदै आएको उद्योग क्षेत्रलाई धराशयी बनाउने र नाफा कमाइ रहेका बैंकहरुलाई थप संरक्षण गरी व्याजबाट अरु नाफा कमाउने अवस्था बनाइएको परिसंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।