२० प्रतिशत बोनसपछि स्वदेशी लघुवित्तले २५ प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

गत बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । साथै उसले बोनसपछि २५ प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।

लघुवित्तले मंसिर १६ गते इटहरीमा ७९ औं साधारणसभा आह्वान गरेको छ । जसका लागि मंसिर ६ गतेदेखि बुक् क्लोज गर्ने जनाएको छ। जस अनुसार मंसिर ५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

स्वदेशीले २० प्रतिशत बोनस शेयर तथा १३.२५ प्रतिशत नगद लाभांशका साथै कर तिर्न थप १.७५ प्रतिशत नगद पनि दिने प्रस्ताव गरेको छ। कम्पनीले ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ४ लाख रुपैयाँ नगद वितरण गर्नेछ । करका लागि ४० लाख २५ हजार रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २७ करोड ६० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तले गत आर्थिक वर्षमा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २७ पैसा कायम गरेको छ।

साथै लघुवित्तले बोनसपछि २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पनि साधारणसभामा लग्ने भएको छ । कम्पनीले ६ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ ।