मर्जरमा जाने कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने, बोर्डले जारी गर्‍यो निर्देशिका


मर्जर सम्झौतापछि वर्षैसम्म सेयर कारोबार रोक्का हुने समस्या भोगिरहेका लगानीकर्तालले अब सेयर कारोबार रोक्का नहुँदा राहत पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने भएको हो ।

बोर्डले कात्तिक २४ गतेदेखि लागू गरेको निर्देशिका अनुसार अब मर्जरमा जाने संगठित संस्थाहरुले आधारभुत सेयरधनीको मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने भएको छ । कम्पनी ऐनले गरेको व्यवस्था अनुसार आधारभुत सेयरधनीहरुको सेयर कारोबार मर्जर सम्झौता भएदेखि रोक्का हुनेछ भने सर्वसाधारणको सेयर कारोबार रोक्का हुने छैन ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि रोक्का राख्नु पर्नेछ । बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ । उत्त, अवधिमा साधारण सभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुने व्यवस्था निर्देशिकाले गरेको छ ।

विशेष व्यवस्था अनुसार निर्देशिका लागू पहिले गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनी बाहेक अन्यको सेयर कारोबार फुकुवा हुने र प्रकृया विगतको अनुसार नै अघि बढाउन सकिने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

निर्देशिका लागू भए पछि एकीकृत कारोबार सुरु भए पछि सेयर पुनः सूचीकरण, नाम परिवर्तन लगायतका प्रकृया पुरा गर्न बढीमा १५ दिन पूर्ण रुपमा सेयर कारोबार रोक्का गर्न सकिने र सोको लागि बजारलाई निवेदन दिएर अनुमति दिनु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।