महासंघको अपिल अस्विकार गर्दै जिल्ला नगर संघहरुद्धारा राष्ट्र बैंक विरुद्धको आन्दोलनलाई निरन्तरता


नेपाल उद्योग वाणिज्य महासंघको अपील अमान्य भएको भन्दै विभिन्न जिल्ला तथा नगर संघहरुले राष्ट्र बैंक बिरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । देशभरका उद्योगी व्यवसायी ब्याज आन्दोलनमा उत्रिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनलाई लक्षित गर्दै आन्दोलन तत्कालका लागि स्थगन गर्न अपील गरेको थियो ।

महासंघले गरेको अपीलको बेवास्ता गर्दै पुर्वी नेपालदेखि पश्चिमसम्ममा विभिन्न नगरका उद्योग वाणिज्य संघहरुले बिहीबार राष्ट्र बैंकको बिरोधमा जुलुस निकालेका छन् ।

पुर्बी नेपालमा झापाको दमक उद्योग वाणिज्य संघ र मोरङको उर्लाबारी उद्योग वाणिज्य संघले बिहीबार उद्योगी तथा व्यवसायीको सहभागितामा बिरोध प्रदर्शन गरेका छन् ।

त्यसैगरी धनुषाको जनकपुरधाम उद्योग वाणिज्य संघ, बाँकेको कोहलपुर उद्योग वाणिज्य संघ, कन्चनपुर उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघले पनि महासंघको अपील अस्वीकार गर्दै बिहीबार बिरोध प्रदर्शन गरेका छन् ।

कन्चनपुर उद्योग वाणिज्य संघले भने बिहीबार उद्योगी व्यवसायीका मागका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल मार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघले पनि जिल्लाका अन्य संघ संस्थाको सहभागितामा बिरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।

सबै नगर संघहरुले आयोजना गरेको बिरोधमा अन्य व्यवसायिक संघ संस्थाले पनि ऐक्यबद्धता जनाएका थिए । उनीहरुले कोरोना महामारीका कारण धरासायी भइ क्रमिक सुधारमा रहेका व्यवसायलाई हतोत्साहित हुने गरी ब्याजदर बढाएको भन्दै ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

अधिकांश स्थानमा भएको बिरोध प्रदर्शन उद्योग वाणिज्य महासंघको चर्को बिरोध भएको छ । पछिल्ला केही दिनयता तरलता, ब्याजदर तथा चालु पूँजी कर्जाको विषयलाई लिएर व्यवसायीहरुले देशव्यापी रुपमा आन्दोलन सुरु गरेका थिए । यसैबिच महासंघले बुधबार औपचारिक निर्णय गर्दै सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई विरोधका कार्यक्रम स्थगित गर्न भनेको थियो ।

निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताएको थियो । तर व्यवसायीहरुले बैंकको निरन्तरको ताकेताका कारण समस्या बढ्दै गएको भन्दै तत्काल निकासका लागि आग्रह गरेका हुन् ।

अधिकांश स्थानमा प्रदर्शनकारीहरुले कालो पट्टी बाँधेर बिरोध प्रदर्शन गरेका छन् । बैंकको व्याजदर तत्काल घटाउनु पर्ने, चालु पुँजी कर्जाको व्यवस्था खारेज गर्नुपर्ने लगायतका विषयलाई प्रदर्शनका क्रममा प्राथमिकतामा राखिएको थियो ।

राष्ट्र बैंक विरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।