व्यवसाय गर्ने वाताबरण बनाउन माग गर्दै अटो व्यवसायीद्धारा बिरोध प्रदर्शन


अटो व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण व्यवसाय धरापमा परेको भन्दै पछिल्ला व्यवस्थाहरुलाई पुर्ववत् अवस्थामा फर्काउन उनीहरुले माग गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा बिहीबार बिहान ११ बजे सयौंको संख्यामा अटोका साथै अन्य क्षेत्रका व्यवसायी माइतीघरमा जम्मा भएका हुन् । शान्तीपूर्ण रुपमा बिरोध प्रदर्शन गरेका व्यवसायीहरुले कालो व्यानरमा बिरोध दर्शाउने विषय उल्लेख गर्दै प्रदर्शन गरेका थिए । मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ५० प्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गर्नु पर्ने लगायतका विषय समेटिएका प्लेकार्ड सहित माइतीघर मण्डलामा व्यवसायीले बिरोध जनाएका हुन् ।

नाडा अध्यक्ष अध्यक्ष ध्रुब थापाले झण्डै १ वर्षयता विभिन्न चरणमा गरिएका नीतिगत कडाईलाई सहज बनाउन दवाब दिने उद्धेश्यले बिरोध कार्यक्रम आयोजना गरिएको बताए । सबै किसिमका प्रतिबन्ध नहटुञ्जेल व्यवसायीको आन्दोलन जारी रहने बताएका उनले आयात प्रतिबन्ध हटाउन मात्र अटो व्यवसायीले आन्दोलन नगरेको बताए ।

बिरोधमा सहभागी व्यवसायीहरुले छिटोभन्दा छिटो सहज रुपमा व्यवसाय गर्न सक्ने वाताबरण बनाउनका लागि नेपाल राष्ट्र बैंक तथा सरकारसँग आग्रह गरे । व्यवसाय बन्दा हुँदा राज्यले पाउनुपर्ने कर समेत प्रभावित भईरहेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए । असहज नीतिका कारण व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय गर्ने वाताबरण बनाइदिन माग गरेका हुन् ।

नगद मार्जिनको व्यवस्था हटाउनु पर्ने, अटोकर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, चालु पुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नु पर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने लगायत विषयलाई व्यवसायीले जोडदार रुपमा उठाएका हुन् ।

बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता मागहरुको अझै सम्बोधन नभएको उनीहरुको गुनासो छ । एकोहोरो शैलीमा व्यवसायीसँग परामर्श नगरी लागू गरिएका नीतिका कारण नै आन्दोलन तथा बिरोधको अवस्था उत्पन्न भएको आन्दोलनका सहभागिहरुले बताएका छन् ।

५० प्रतिशतको फाइनान्सिङका कारण बजार टाट पल्टिने अवस्था आएको, हजारौंको संख्यामा सवारी साधनहरु भन्सारमा थन्किएका कारण समस्या भएको उनीहरुको आरोप छ ।

व्यवसाय सञ्चालन गर्न असहज हुने गरि गरिएका सबै नीतिगत प्रावधानहरु खारेज नभएसम्म बिरोध तथा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने नाडाले जनाएको छ । अटो व्यवसायीले उठाएका माग सबै क्षेत्रका व्यवसायीको साझा माग भएकाले आगामी दिनमा बिरोध कार्यक्रम थप प्रभावकारी रुपमा सञ्चालन गर्ने नाडाको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।