बीमा कम्पनीको दबाबमा प्राधिकरणले घटायो फ्यूचर बोनस प्रोभिजन रकम


बीमा कम्पनीहरुको दबाबपछि नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको फ्यूचर बोनस प्रोभोजिङ्गको रकम घटाएको छ ।

प्राधिकरणले “जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्यांकन सम्बन्धि निर्देशिका २०७७” लाइ संसोधन गर्दै प्रोभिजन गर्नुपर्ने रकमलाई घटाएको हो ।

प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार कम्पनीहरुले आगामी तीन वर्ष भित्रमा ५० प्रतिशत रकम मात्रै प्रोभिजन गरे पुग्नेछ । आर्थिक वर्ष २०७८/७९ का लागि भने ३५ प्रतिशत प्रोभिजन गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

प्राधिकरणले शुक्रबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघिको व्यवस्था अनुसार प्राधिकरणले पाँच वर्षभित्रमा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

फ्यूचर बोनस प्रोभोजिङ्ग भनेको के हो ?

फ्यूचर बोनस प्रोभोजिङ्ग भनेको जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने जीवन बीमा पोलिसीमा बीमितलाई भुक्तानी गर्नुपर्ने बोनसलाई अग्रिम रुपमा प्रोभिजन गर्नुपर्ने व्यवस्था हो । अर्थात कम्पनीले जारी गर्ने पोलिसी र सो पोलिसीको लागि तोकेको बोनस रकम ।

कम्पनीले पोलिसी अवधिभरमा भुक्तानी गर्ने बोनसलाई अग्रिम रुपमा हिसाब गरी बीमा कोषमा जम्मा गर्ने व्यवस्था हो । जीवन बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्यांकनपछि आफु खुशी यस्तो खालको प्रोभिजन गर्दै आएका थिए ।

कम्पनीहरुले जारी गरेको पोलिसीमा तोकेको बोनस रकम भुक्तानी गर्न नसक्ने अवस्था देखिएपछि प्राधिकरणले आव २०७५/७६ मा यस्तो प्रोभिजन शतप्रतिशत (१००%) गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणको यस्तो व्यवस्थापछि कम्पनीहरुको ठूलो रकम प्रोभिजनमा थुप्रियो । फलस्वरुप कम्पनीहरुको बोनसदर घट्न सक्ने देखियो । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) जस्ता पुराना र ठूला ठूलो कम्पनीहरुमा यसको असर देखिन थाल्यो ।
त्यसैले कम्पनीहरुले प्राधिकरणमा प्रोभिजन रकम घटाउन दबाब दिँदै आएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।