नेशनल हाइड्रोले लगानीकर्तालाई बनाउन सकेन आशावादी, ऋणात्मक जगेडा उस्तै


विवादास्पद जलविद्युत कम्पनी नेशनल हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख ५५ हजार रुपैंया खुद नाफा कमाएको छ ।हाइड्रोले गत आर्थिक वर्षको पहिलो त्रैमासदेखि सुरु गरेको खुद नाफा कमाउने क्रमलाई यस पटक निरन्तरता दिएको हो । तर पनि कम्पनीको जगेडा कोष करोडौं रुपैंयाले नोक्सानीमा नै रहेकाले लगानीकर्ता आशावादी बन्ने ठाउँ भने छैन ।

गत आर्थिक बर्षको पहिलो त्रैमासमा नेशनल हाइड्रोले २ करोड ५८ लाख ८२ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी बढाए पनि प्रत्यक्ष खर्च, प्रशासनिक खर्चको आकार बढाए पछि खुद नाफा घटेको हो ।

यसरी कम्पनीले कमाउँदै लगेको खुद नाफालाई हरेक पटक ऋणात्मक जगेडामा समायोजन गरी घटाउँदै गएको छ ।

हाइड्रोले यस अवधिमा विद्युत बिक्रीबाट ६ करोड ६४ लाख रुपैंया आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा हाइड्रोले विद्युत बिक्रीबाट हुने आम्दानी झण्डै २० लाख रुपैंयाले बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले ६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ३८ करोड १० लाख ६८ हजार रुपैंयाले ऋणात्मक छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष ४२ करोड ३७ लाख ७४ हजार रुपैंयाले ऋणत्मक थियो ।

प्रत्येक त्रैमासको खुद नाफालाई समायोजन गरेर कम्पनीले जगेडा कोषको ऋणत्मक आकारलाई घटाएको हो । यहि गतिमा कम्पनीले ऋणत्मक जगेडाको आकार घटाउँदै जाने हो भने पनि १० वर्षभन्दा बढी समयमा मात्र जगेडा कोष धनात्मक बन्न सक्छ ।

वित्तीय विबरणमा कम्पनीले प्रति शेयर आम्दानी ३ रुपैयाँ ५४ पैसा, प्रति शेयर नेटवर्थ ७२ रुपैयाँ ५० पैसा र मुल्य आम्दानी अनुपात १४.९५ गुणा बढी रहेको देखाएको छ । तर वित्तीय विबरणमा उल्लेख भएको कुन रकमका आधारमा प्रतिशेयर आम्दानी गणना भएको भन्ने प्रष्ट नभएकाले केही अन्यौलता भने देखिन्छ ।