बैंक वित्तीय संस्थाका संस्थापकको योग्यतामा कडाइ 


नेपाल राष्ट्र बैंकले बैंक-वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकको संस्थापक हुनका लागि आवश्यक मापदण्डमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जा सुचना केन्द्रको कालोसूची मात्र नभै आपराधिक पृष्ठभूमि भएपनि संस्थापक हुन कडाई गरेको हो । 

विगतमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट हटेको भए त्यसरी हटेको मितिले तीन वर्ष व्यतीत भइ नसकेको व्यक्ति बैंक/वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकको संस्थापक हुन नसक्ने व्यवस्था छ । केन्द्रीय बैंकले उक्त व्यवस्थाका साथै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई नसकेको अवस्थामा संस्थापक हुन नपाउने व्यवस्था थप गरेको हो । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था स्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३ तथा पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीतिगत व्यवस्था २०७४ संशोधन गर्दै कुनै संस्थापक कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको वा कर्जा नतिरी डिफल्टर भएको वा कर्जाको भाखा नाघेको वा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएमा त्यस्ता व्यक्ति संस्थापक रहन नसक्ने व्यवस्था गरेको छ । नयाँ संस्थापकहरु थप गरी संस्थापकहरुले लगानी गर्न कबुल गरेको पुँजी रकम सहितको संशोधित विवरण तथा कागजातहरू पेश भई आए पछि मात्र निवेदन उपर कारबाही अगाडि बढाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

उपरोक्त बमोजिम संशोधित विवरण तथा कागजातहरू पेश गर्न समय लाग्ने भई यस नीतिगत व्यवस्थामा तोकिएको समयावधिभित्र बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने अवस्था देखिएमा यस बैंकले सम्बन्धित पक्षहरूलाई पुनः निवेदन पेश गर्न लगाउन सक्ने व्यवस्था गरेको छ । त्यसका साथै आपराधिक पृष्ठभूमि सम्बन्धी प्रहरी प्रतिवेदन संलग्न छ रु छ छैन र कुनै भ्रष्टाचार सम्बन्धी कारवाहीमा पर्नुभएको छरु छ छैन भन्ने स्पष्ट गर्नु पर्ने व्यवस्था गरेको छ। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।